युवा डिफेन्डर महर्जन नयाँ सिजनका लागि थ्री स्टारमै रहने

४ भदौ २०७८ काठमाडौं । युवा डिफेन्डर निराजन महर्जन नयाँ सिजनका लागि ए डिभिजन क्लब थ्री स्टारमै रहने भएका छन् ।
महर्जनले आज ललितपुरको क्लब थ्री स्टारसँगको सम्झौता नवीकरण गरेका छन् । निराजनले सम्झौता नवीकरण गरेको थ्री स्टारले सामाजिक संजालमार्फत जनाएको छ ।
आगामी कात्तिक २९ गतदेखि शुरु हुने सहिद स्मारक ए डिभिजन लीगका लागि थ्री स्टारले निराजनसँगको सम्झौता नवीकरण गरेको हो । निराजनले नेपालको यू १२, यू १४,यू १८ र यू १९ राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् ।
यस्तै सन् २०१८ मा थ्री स्टारको यू१८ टिमको कप्तानी गरेका थिए । थ्री स्टारले यसअघि नै कप्तान विक्रम लामा, डिफेन्डर अनन्त तामाङ र निशान खड्का, मिडफिल्डर सन्जोग राई, मनाग्य नकर्मीसँगको सम्झौता नवीकरण गरिसकेको छ ।
यस्तै राष्ट्रिय टिमका युवा मिडफिल्डर आयुश घलानलाई पनि क्लब भित्र्याएको छ । यस अघि क्लबले मिडफिल्डर डोना थापा र क्यामरुनी डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई पनि अनुबन्ध गरेको थियो ।
प्रतिक्रिया