खेलकूद

साफ फूटबलको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने

हिमालय टिभी
२०७८ भदौ २ गते १९:०७
साफ फूटबलको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने

२ भदौ २०७८ काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनसिप फूटबलमा उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

दक्षिण एसियाली फूटबल महासंघले आज सार्वजनिक गरेको खेल तालिका अनुसार असोज १५ गते हुने पहिलो खेलमा नेपालले घरेलु टोली प्रतिद्धन्दी पाएको हो ।

आफ्नो दोस्रो खेलमा नेपालले १७ गते श्रीलंका, २२ गते भारत र अन्तिम खेलमा बंगलादेशसँग २४ गते खेल्नेछ । प्रतियोगितामा यस पटक ५ टोली मात्र सहभागी छन् । कोरोनाका कारण पाकिस्तान र भुटानले नखेल्ने बताएका थिए ।

लीग चरणमा सबै टोलीले एक अर्को विरुद्ध खेलेपछि शीर्ष दुई टोलीबीच असोज २७ गते फाइनल प्रतिस्पर्धा हुनेछ । सबै खेल राजधानी मालेको रंगशालामा हुनेछन् ।

माल्दिभ्स प्रतियोगिताको साबिक विजेता हो । प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीले अहिले पोखरा रंगशालामा बन्द प्रशिक्षण गरिरहेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईले सोमबारमात्र २८ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *