समाज

अव्यवस्थित चुनढुंगा उद्योगका कारण स्थानीय बासिन्दा मारमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २ गते १८:४१
अव्यवस्थित चुनढुंगा उद्योगका कारण स्थानीय बासिन्दा मारमा (भिडियो रिपोर्टसहित)

२ भदौ २०७८ पाल्पा । पाल्पामा अव्यवस्थित रुपमा सञ्चालित चुनढुंगा खानी उद्योगका कारण स्थानीय बासिन्दा मर्कामा परेका छन्।

उद्योग स्थापनाले रोजगारी सिर्जना भयो भनेर शुरुका दिनमा खुसी भएका उनीहरु पछिल्ला दिनमा बासस्थान र ज्यानै जोखिममा पर्न थालेपछि चिन्तित बनेका हुन् ।

तिनाउ गाउँपालिका वडा नम्वर ५, हिउँदेखोलामा चुनढुंगा खानीकै कारण आएको बाढी(पहिरोले पाँच घर बगायो । दुई जनाको मृत्यु भयो ।

मजदुरी गरेर गुजारा गर्ने गरेका सिद्धार्थ राजमार्गको छेउछाउका बासिन्दालाई चुनढुंगा खानी उद्योगले उठीबास लगाएको छ ।

बस्तीभन्दा माथि रहेका उद्योगका कारण दुई वर्ष अघिदेखि राजमार्गको झुम्सा, हिउँदेखोला, पानी मिललगायतका स्थानमा डाँडै भासिने समस्या देखिएको छ । जसका कारण वस्ती र सडक जोखिममा छन् ।

चुनढुंगा खानीबाट समस्या थपिने क्रम वर्षेनी बढ्दो छ । वर्षा सुरु हुनासाथ जमिन भासिने, पहिरो खस्ने र खानीको कच्चा पदार्थ बगेर राजमार्गमा थुप्रिने गरेको छ । हिउँदे धुलोका कारण बसिसक्ने अवस्था हुँदैन । खानीकै कारण पानी मिलमा ३१, झुम्सामा १५ र हिउँदेखोलामा ११ घर जोखिममा छन् ।

चुनढुङ्गा उद्योगले मानव वस्ती मात्र जोखिममा पारेको नभई हराभरा डाडा नाङ्गा हुँदै गएका छन् । प्रकृतिको दोहनले मानवीय तथा वातावरणीय असर बढेपछि समस्या समाधानका लागि स्थानीय सरकारले विज्ञसँग छलफलको तयारी गरेको छ ।

चुनढुङ्गा खानी उद्योगसम्मको पहुँच मार्ग निर्माण पनि अव्यवस्थित रुपमा गरिएको छ । यसले पानीका मुहान पुरिने तथा सुक्ने समस्या भएको छ ।

उद्योग सञ्चालनपछि भइरहेको लापरबाहीका कारण प्राकृतिक विपत्ति बढेकोमा स्थानीय बासिन्दा चिन्तित छन् । उनीहरुले उद्योगलाई मापदण्डभित्र ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *