समाज

कोरोनाका कारण ऐतिहासिक मठमन्दिर सञ्चालनमा आर्थिक समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३१ गते ७:०५
कोरोनाका कारण ऐतिहासिक मठमन्दिर सञ्चालनमा आर्थिक समस्या (भिडियो रिपोर्टसहित)

३१ साउन २०७८ पाल्पा । कोरोना भाइरसले सिर्जित परिस्थितिका कारण ऐतिहासिक मठमन्दिर सञ्चालनमा आर्थिक समस्या बढेको छ।

कोरोनाको जोखिमबाट सुरक्षित रहन प्रशासनले गरेको निशेधाज्ञाले मठमन्दिरमा दर्शनालूलाई निषेध छ । त्यसैले मन्दिर व्यवस्थापनलाई दैनिक पूजा सामग्री खर्च र मन्दिरका पुजारी तथा कर्मचारीका निम्ति पारिश्रमक जुटाउन सास्ती भएको छ ।

कोरोना संक्रमणको उच्च जोखिममा परेपछि पाल्पामा प्रशासनले बैशाख महिनादेखि निशेधाज्ञा जारी गर्यो । जसले गर्दा धार्मिक पर्यटकीय क्षेत्र सुनसान बनेपछि आम्दानी शुन्य भएको छ ।

निशेधाज्ञा शुरु भएदेखि अहिले सम्म पाल्पाका अमरनारायण, भगवती, भैरव, ऋषिकेश लगायतका मन्दिरमा दर्शनार्थी आएका छैनन् । जिल्ला प्रशासन कार्यालयले मठ मन्दिरमा पूजाआजामा अझै रोक लगाएको छ । यसले गर्दा पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल छैन ।

रिब्दीकोट गाउँपालिका ५ भैरवस्थानमा रहेको भैरव मन्दिर पश्चिम क्षेत्रमै निकै प्रसिद्ध छ । तानसेन देखि नौ किलोमिटर पश्चिममा रहेको यो मन्दिरमा कोभिड १९ ले गर्दा नित्य पूजा मात्र हुने गरेको छ ।

मन्दिरमा १४ जना स्थायी र अन्य केही ज्यालादारी कर्मचारी छन् । आम्दानी नभएपछि कर्मचारीको तलब भत्ता, मन्दिर व्यवस्थापनको खर्च जुटाउन समेत समस्या भएको छ । मन्दिरसँग जोडिएका स्थानीय बासिन्दाको रोजीरोटी पनि गुमेको छ ।

तानसेन नगरपालिका–२, नारायणस्थानमा रहेको अमरनारायण मन्दिरमा पनि उस्तै समस्या छ । कोरोनाले गर्दा यहाँ साँझ बिहान भजनकृतन पनि हुन छाडेको छ । अहिले मन्दिरमा दर्शनार्थी आउँदैनन् । त्यसैले पूजा खर्च समेत जुटाउन समस्या छ ।

कोरोना महामारीले मठ मन्दिरका नियमित आर्यस्रोत गुमेको छ । निषेधाज्ञाका कारण धार्मिक पर्यटन पनि ठप्प छ । यसले स्थानीय बासिन्दाको रोजगारीमा समेत प्रत्यक्ष असर पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *