कला/मनोरञ्जन

नेपालकै पहिलो एडभेन्चर रियालिटी शो हिमालय रोडिज–४ सिजनको डिजिटल अडिसन शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २९ गते १९:२७
नेपालकै पहिलो एडभेन्चर रियालिटी शो हिमालय रोडिज–४ सिजनको डिजिटल अडिसन शुरु (भिडियो रिपोर्टसहित)

२९ साउन २०७८ काठमाडौं । नेपालकै पहिलो एडभेन्चर रियालिटी शो हिमालय रोडिजको चौथो सिजनका लागि डिजिटल अडिसन शुरु भएको छ ।

कोभिडका कारण समस्या हुने भएपछि पहिलो पटक डिजिटल अडिसन थालिएको हो । निर्धारित समय भन्दा ढिला सुरु भएको यो सिजनको थिम, सिजन अफ सर्भाइभल छ । सहभागी हुन चाहनेले हिमालय रोडिज मोबाइल एप डाउनलोड गरी अडिसन फर्म भर्न सक्नेछन् ।

त्यस्तै, हिमालय रोडिजको फेसबुक पेज वा अन्य आधिकारिक सामाजिक सञ्जाल मार्फत् भिडियो पठाएर आवेदन दिन सक्नेछन् । अडिसनका लागि २ हप्ता दिइएको छ । कोरोना महामारिकाबीच पनि स्वाथ्य मापदण्डलाई ध्यानमा राखेर कार्यक्रम अगाडी बढाउन लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताउनुभयो ।

यस पटकको हिमालय रोडिजलाई सिमोस सुनुवारले निर्देशन गर्नुहुनेछ । सुनुवारले यसअघि विभिन्न एडभेन्चर शो र चलचित्र निर्देशन गरिसक्नुभएको छ । साहसिक कार्यक्रमका रुपमा चिनिएको लोकप्रिय रियालिटी शोमा जोडिन पाउँदा खुशी लागेको निर्देशक सुनुवारले बताउनुभयो । चौथो सिजन विगतको भन्दा फरक र उत्कृष्ट हुने उहाँको दाबी छ ।

यो सिजन पनि रेमनदास श्रेष्ठले संचालन गर्नुहुनेछ । ग्याङ लिडरका रुपमा अनुप विक्रम शाही, दिया मास्के, आशिष राना लाहुरे र समन श्रेष्ठ हुनुहुन्छ ।

कार्यक्रमको मुख्य प्रायोजक यामाहा मोटर साइकल रहेको छ । त्यससम्बन्धी सम्झौता पत्रमा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक कँडेल र एमएडब्लु नेपालका प्रबन्ध निर्देशक राजु क्षेत्रीले हस्ताक्षर गर्नुभयो । यामाहाका सीईओ क्षेत्रीले युवाले मन पराएको कार्यक्रममा निरन्तर जोडिन पाएकोमा खुशी लागेको बताउनुभयो ।

त्यस्तै, डाबर नेपालसँग स्टाइल पार्टनर र एसोसिएट स्पोन्सरका रुपमा एच पि लुब्रिकेन्ट्ससँग सम्झौता भएको छ । कार्यक्रम असोज पहिलो सातादेखि हरेक सोमबार बेलुकी ८ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *