भिल्ला रियललाई पराजित गर्दै चेल्सीले जित्यो यूईएफए सुपर कपको उपाधि

२८ साउन २०७८ काठमाडौं । भिल्ला रियललाई टाइब्रेकरमा हराउँदै चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।
गएराति भएको खेलमा भिल्ला रियललाई टाइब्रेकरमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
खेलमा चेल्सीले २७ औं मिनेटमा हाकिम जियाचको गोलबाट अग्रता लिएको थियो । ७३ औं मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरका किपा अरिजाब्लागाले भिल्ला रियलका कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा भएको खेलमा चेल्सी च्याम्पियन बनेको हो ।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको चेल्सीका लागि खेलको अन्तिम समयमा किपा मैदान छिरेका थिए ।
चेल्सी गत सिजनको च्याम्पियन्स लीग विजेता हो भने भिल्ला रियल युरोपा लीग विजेता हो । युईएफले हरेक वर्ष सिजन शुरु हुनु अघि युरोपेली क्लब फूटबलका दुई ठुला प्रतियोगिताका विजेतालाई मैदान उतार्ने गरेको छ ।
नयाँ सिजन शुरु हुनु अघि दुवै टिम सुपर कपका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगिता पहिलो पटक नर्दन आयरल्याण्डमा १३ हजार दर्शक समक्ष भएको हो ।
प्रतिक्रिया