राष्ट्रिय पुरुष फूटबल टिमको बन्द प्रशिक्षण आजदेखि पोखरामा शुरु हुँदै
२७ साउन २०७८ काठमाडौं । राष्ट्रिय पुरुष फूटबल टिमको बन्द प्रशिक्षण आजदेखि पोखरामा शुरु हुँदैछ ।
अखिल नेपाल फूटबल संघ (एन्फा)ले आजदेखि पोखरा रंगशालामा टिमको प्रशिक्षण शुरु हुने जनाएको छ । १० दिनको विश्रामपछि नेपाली टिमले पोखरामा प्रशिक्षण शुरु गर्न लागेको हो ।
प्रशिक्षणका लागि नेपाली टोली पोखरा पुगिसकेका छन् । साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुने भएको छ । साफ च्याम्पियनसिप अघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
बन्द प्रशिक्षणमा रोहित चन्द, किरण कुमार लिम्बु, भरत खवास, विशाल राई, नवयुग श्रेष्ठ, विकेश कुथु, विशाल श्रेष्ठ, अनन्त तामाङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, अभिषेक रिजाल, दिनेश राजवंशी, मनिष डाँगी, सन्तोष तामाङ, समावेश छन् ।
त्यस्तै अर्पण कार्की, विशाल सुनार, दीप कार्की, आशिष लामा, शिशिर लेखी, आयुष घलान, गौतम श्रेष्ठ, कमल थापा, नितिन थापा, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल, जर्ज प्रिन्स कार्की, सन्जोग राई, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ, बिक्रम लामा समावेश छन् ।
प्रतिक्रिया