समाज

धादिङ मालपोतको चरम लापरवाहीः धितो नै नराखेको जग्गासमेत रोक्का (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २६ गते १४:३७
धादिङ मालपोतको चरम लापरवाहीः धितो नै नराखेको जग्गासमेत रोक्का (भिडियो रिपोर्टसहित)

२६ साउन २०७८ धादिङ । केही दिन अघि हेटौडास्थित मालपोत कार्यालयमा लाइनमा बस्दा एक वृद्धाको ज्यान गएको थियो । मालपोतको अव्यवस्था र बेतिथि हेटौडामा मात्रै होइन देशभरी नै उस्तै छ । धादिङस्थित मालपोत कार्यालयमा पनि सेवाग्राहीले सास्ती पाउँदै आएका छन् ।

जिल्ला मालपोत कार्यालय धादिङ । बाहिरबाट हेर्दा चिटिक्क यो कार्यालयमा सेवा भने ठिक उल्टो छ । सामान्य कामका लागि पनि नागरिकले घन्टौं लाम लाग्नुपर्ने र भोलिपल्ट पनि आउनुपर्ने बाध्यता छ ।

सेवा लिन झण्झटिलो मालपोत कार्यालयले गंभीर लापरबाही पनि गर्ने गरेको भेटिएको छ । बैंकबाट ऋण नै नलिएकाहरुको समेत जग्गा रोक्का गरिएको छ ।

ऋण नै नलिएको जग्गा कसरी रोक्का भयो त ? उसले गरेको गल्तीले नागरिकले सास्ती पाउने भएपनि कार्यालयसित सहज उत्तर छ । र, अनलाइनमा अपडेट गर्दा त्रुटि भयो भन्दै पञ्छिने गर्छ ।

यसै त सेवामा ढिलासुस्ती, अर्कोतर्फ बत्ती र इन्टरनेट गइरहने समस्याले नागरिकले थप सास्ती खेप्नुपर्छ । बत्ती र इन्टरनेट गइरहँदा सेवाग्राहीले दिनभर बसेर पनि काम नगरी फर्किनुपर्ने बाध्यता छ । काम ढिलो हुने भएकाले टाढा टाढाबाट सेवालिन आउनेहरु बढी समस्यामा छन् ।

कार्यालयमा इन्भर्टर त छ । तर काम गर्दैन् । काम नगर्ने इन्भर्टर भए पनि नभए पनि कुनै अर्थ छैन् । नयां इन्भर्टर ल्याउने प्रयास भैरहेको कार्यालयको भनाइ छ ।

केही महिना अघि मात्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नापी लगायतका काम अनलाइनबाटै गर्ने भन्ने नागरिक एप सार्वजनिक गर्नु भएको थियो । सरकारी काममा ढिला सुस्ती र झण्झट हट्ने अपेक्षा त्यतिवेला गरिएको थियो । तर नागरिकले सरकारी कार्यालय धाउने र सास्ती पाउने क्रम रोकिएको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *