समाज

पोखराका खोप केन्द्रमा यस्तो भद्रगोल, बिहान ४ बजेदेखि नै लाइन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २५ गते २०:५३
पोखराका खोप केन्द्रमा यस्तो भद्रगोल, बिहान ४ बजेदेखि नै लाइन (भिडियो रिपोर्टसहित)

२५ साउन २०७८ पोखरा । सरकारले कोभिसिल्डसँगै भेरोसेल खोपको दोस्रो मात्रा पनि लगाइरहेको छ । काठमाडौंमा खोप केन्द्र केही व्यवस्थित देखिए पनि अन्यत्र भने सुधार हुन सकेको छैन । पोखरामा खोप लगाउन नागरिक विहान ४ बजेदेखि नै लाइनमा बसे । तर थामिनसक्नु भिड भएपछि खोप केन्द्रमा भद्रगोल भएको छ ।

खोप लगाउनेको भीड बढेपछि पोखरा महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा माइकिङ्ग गर्दै हुनुहुन्छ । उहाँले लाइन व्यवस्थित बनाउन र सामाजिक दुरी कायम गर्न आग्रह गरिरहनुभएको छ ।

उहाँले जति सुकै आग्रह गरे पनि खोप लगाउन आएकाले टेरिरहेका छैनन् । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भने झैँ भीड बढिरहेको छ ।

सरकारले ५५ वर्ष माथिका नागरिकलाई भेरोसेलको दोस्रो डोज लगाउन कास्कीमा आज, भोलि र पर्सिका लागि समय तोकेको छ ।

लाइनमा बसेकामा ढिला आए खोप पाइँदैन भन्ने चिन्ता छ । पहिलो पटक लगाउँदा पनि घण्टौ लाइन बस्नुपरेको दुख सम्झेर पनि उनीहरु बिहान झिसमिसेमै खोप केन्द्रमा आएका थिए ।

पालो सुरक्षित गर्न बिहान सबेरै आइपुगेकाहरु कतिबेला १० बज्ला र खोप लगाउन सुरु होला भन्दै गेटमा कुरिरहेका छन् ।

प्रधानमन्त्री देखि प्रमुख जिल्ला अधिकारीले बारम्बार निर्देशन दिए पनि अझै खोप केन्द्र व्यवस्थित हुन सकेका छैनन् । खोप केन्द्रमा स्वास्थ्य मापदण्ड पालना फितलो छ । केन्द्रबाटै कोरोना संक्रमण फैलने खतरा देखिएकाले सरकारी अधिकारी पनि मापदण्ड पालना गर्न आग्रह गरिरहेका छन् ।

खोप केन्द्रबाटै संक्रमण फैलिएको सम्बन्धित निकायले स्विकार गरेका छन् , तर खोप केन्द्र व्यवस्थित गर्न भने चुकिरहेका छन् । काठमाडौंमा पछिल्लो पटक केही व्यवस्थित देखिए पनि बाहिर भने अवस्था भद्रगोल नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *