खेलकूद

कहिले सकिएला पोखरा रंगशाला निर्माण कार्य ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २४ गते १६:४५
कहिले सकिएला पोखरा रंगशाला निर्माण कार्य ? (भिडियो रिपोर्टसहित)

२४ साउन २०७८ पोखरा । दुई वर्षअघि १३औं दक्षिण एसियाली खेलकूद (साग)का लागि जुगाड गरेर तयार पारिएको पोखरा रंगशालाको निर्माण कार्य अझै सकिएको छैन । आवश्यक बजेट नहुँदा र कोरोना भाइरस महामारीका कारण काम रोकियो ।

मैदान र प्यारापिटको काम अन्तिम चरणमा पुगे पनि अन्य संरचना निर्माण हुन सकेको थिएन । अहिले नवौं राष्ट्रिय खेलकूद नजिकिँदै जाँदा रंगशाला निर्माणको कामलाई द्रुत पारिएको छ ।

२०७६ मंसिरमा १३ औं दक्षिण एसियाली खेलकूदअन्तर्गत महिला फूटबल पोखरा रंगशालामा हुने तय भएपछि हतारहतार मैदान र प्यारापिट तयार गरियो  । जसोतसो खेल भयो । त्यस पछि केही समय रंगशाला निर्माण रोकियो ।

ठेकेदार कम्पनीले पाउनुपर्ने रकम पनि एक वर्षसम्म रोकियो । पछि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित गरेपछि ठेकेदार कम्पनीले निर्माण थाल्यो । कोरोनाको दुई वटा लहरका क्रममा सुस्तिएको रंगशाला निर्माणको कामले अहिले तीब्रता पाएको छ ।

अहिले रंगशालाको प्रि–इन्जिनियरिङ बिल्डिङ (पीईबी) र भीआईपी प्यारापिटमा ट्रस्ट बनाएर छाना हालिएको छ । भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनले संयुक्त रुपमा रंगशालाको निर्माण गरिरहेका छन् ।

प्यारापिटलाई वरिपरिबाट छोपिएको छ । बाहिरी आवरणको सिभिल इन्जिनियरिङको काम अहिले चलिरहेको छ । रंगशाला परिसरमा कालोपत्रे गर्ने तथा नाला बनाउने काम भइरहेको छ । शौचालयको १६ वटा ब्लकको काम अन्तिम चरणमा पुगेको छ । रंगशालाको भौतिक प्रगति ९५ प्रतिशत पुगेको ठेकेदार कम्पनीले जनाएको छ ।

अहिले यो रंगशालाको क्षमता १६ हजार पाँच सय दर्शक भए पनि त्यसलाई बढाउने तयारी राखेपले गरेको छ । तर, नवौं राष्ट्रिय खेलकूदका लागि आवश्यक पर्ने पौडी पोखरी, सुटिङ रेन्ज, हक्की, क्रिकेट लगायतका पूर्वाधार भने अझै बनेका छैनन् ।

ठेकेदार कम्पनीको म्याद गत असारमै सकिएको छ । तर समयमा काम सकिएन । त्यसैले आयोजनाको म्याद ६ महिना थपिएको छ । कम्पनीले थपिएको समय असोजसम्म काम सक्ने दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्