ऐन निर्माण नहुँदा बाँकेका हजारौं नेपाली नागरिकताविहीन, यस्ता समस्या झेल्न बाध्य (भिडियो रिपोर्टसहित)

२३ साउन २०७८ बाँके। नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गर्न नमिल्ने व्यवस्था गरेको छ । संविधानले नागरिकताको हक सुनिश्चित गरे पनि त्यस अनुसार ऐन निर्माण नहुँदा नेपाली नागरिकका सन्तानले पनि नागरिकता पाउन सकेका छैनन् । बाँकेमा हजारौंले नागरिकता पाउन सकेका छैनन् । नागरिकता नै नहुँदा अनेकौं समस्या खेप्न उनीहरु बाध्य छन् ।
२४ वर्ष उमेर पुगिसक्दा पनि नेपालगन्ज आलानगरका माधव गुप्ताले नागरिकता बनाउन सक्नु भएको छैन । माधवकै जस्तो समस्या उहाँकी बहिनी मिनु गुप्ताको पनि छ । २० वर्षीया मिनुले पनि नागरिकता बनाउन दौडधुप थालेको धेरै समय बितिसकेको छ ।
नागरिकता व्यक्ति र राज्य बीचको कानूनी सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण र आधारभूत प्रमाण हो । माधव र मिनुका बुवा वीरेन्द्र प्रसाद गुप्तासँग जन्मको आधारमा २०६३ सालमा जारी भएको नागरिकता छ । बुवाले नेपाली नागरिकता पाउनुभन्दा पहिले जन्मिएका सन्तानका लागि नागरिकता दिने प्रष्ट कानूनी व्यवस्था नहुँदा माधव र मिनुले नागरिकता पाउन सक्नु भएको छैन ।
नयाँ संविधान जारी भएको ५ वर्ष बितिसक्दा पनि नेपाली नागरिकता संशोधन गर्न बनेको विधेयक संसदमा पुगेर अड्केको अड्क्यै छ । जस्का कारण नागरिकता समस्या समाधान हुन सकेको छैन । उच्च शिक्षादेखि मोबाइलको सिम कार्ड लिन, बैंक खाता खोल्न र जागिर खान नागरिकता चाहिन्छ । तर नागरिकता नभएकै कारण माधव र मिनु जस्तै हजारौं नागरिकले अहिले अनेकौ सास्ती खेप्दै आएका छन् ।
अघिल्लो सरकारले नागरिकता अध्यादेश जारी गरेको थियो । तर नागरिकता वितरण शुरु नगर्दै सर्वोच्चले नागरिकता जस्तो संवेदनशील विषय अध्यादेशबाट सम्बोधन हुन नसक्ने भन्दै कार्यान्वयनमा रोक लगाइदियो ।
अब नागरिकतासम्बन्धी हालको कानूनी व्यवस्था परिमार्जन गर्न संसदबाट विधेयक पारित गर्नुपर्ने भएको छ । तर प्रमुख राजनीतिक दलबीचको द्वन्द्व र खिचातानीले विधेयक कहिले पारित हुन्छ भन्ने अन्योल छ ।
Yo dheraii jatil samasya ho nepalma janmeko ra nepalmaii basirako maanisle nagrikta napaunu dheraii dukh ko kura ho yasto samasya samadhan ko laagi yen parit garaunuparxa matra sambidhan lekhera hundaiin karyanwayan pni garnuparxa