समाज

नागरिकमा कोरोनाको त्रास, यसरी बढ्दै मानसिक रोगीको संख्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २० गते १५:१४
नागरिकमा कोरोनाको त्रास, यसरी बढ्दै मानसिक रोगीको संख्या (भिडियो रिपोर्टसहित)

२० साउन २०७८ बाँके । कोरोना महामारीयता नागरिकमा मानसिक तनाव बढेको छ । कोरोना संक्रमणका कारण हजारौं परिवारले आफन्त गुमाएका छन् ।

निषेधाज्ञाका कारण रोजगारी गुमाउनेको संख्या पनि बढ्दै गएको छ । यसले सबैतिर मानसिक समस्याका विरामीको संख्या बढ्दैछ ।

मानसिक रोगको समय मै उपचार नहुँदा पछिल्ला दिनमा बाँकेमा आत्महत्याका घटना बढ्दै गएको छ । हाल दैनिक २ जनासम्मले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांक छ ।

आत्महत्याको मुख्य कारण तनाब हो । रोजगारी, गरिबी र हिंसाका कारण मानिसमा आइपर्ने मानसिक विचलन बढ्दै गए पछि आवेशमा आएर आत्महत्या गरेको देखिन्छ । डर, चिन्ता र पीरले मानिसलाई रोगी बनाउछ  ।

बेलैमा निदान भएन भने त्यो आत्महत्याको अवस्थामा पुग्न सक्छ । पछिल्ला दिनमा भेरी अस्पतालमा उपचारका लागि आउने मानसिक रोगीको संख्या पनि बढ्दै गएको छ । दैनिक २० देखि २५ जनासम्म उपचारका लागि आउने गरेका छन् ।

कोरोना संक्रमणका कारण धेरै मानिस घरैमा थुनिनुपर्ने अवस्था आयो । बेरोजगारी र आर्थिक अभाव बढ्दै गयो । यसले पनि मानसिक समस्या बढाएको बिज्ञले बताएका छन् । महामारीको त्रास, कमजोर स्वास्थ्य सेवा, नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभुति दिलाउने तर्फ सरकारी उदासिनताले समस्या बढेको छ । समयमै उपचार गराउनेले भने यसबाट मुक्ति पाएका छन् ।

रोजगारीका लागि विदेश जाने तयारी गरि रहेका बेला कोरोना महामारीका कारण रोकिनुपर्दा धेरै युवा तनाबमा छन् । सुदूरपश्चिम, कर्णाली तथा सीमा जोडिएका तराईका जिल्लाका बासिन्दाको रोजगारीको मुख्य गन्तब्य भारत हो ।

कोरोनाको त्रासका कारण भारतबाट हजारौंको संख्यामा युवा स्वदेश फर्किएका छन् । बेखर्ची भएर घर फर्किँदा उनीहरु कसरी ऋण तिर्ने कसरी परिवार पाल्ने भन्ने तनावमा छन । जसले पनि मानसिक रोग बढेको छ ।

आत्महत्याका घटना न्यूनीकरणका लागि कारण पहिचान गरी मानसिक र सामाजिक विकासमा ध्यान दिनुपर्ने बिज्ञको सुझाव छ । सरकारले मानसिक बिरामीको निःशुल्क औषधि उपचार र गाउँ तहसम्म मनोसामाजिक परामर्शको ब्यबस्था मिलाउन आबश्यक देखिएको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *