खेलकूद

पारस खड्काले किन लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १९ गते २०:४४
पारस खड्काले किन लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ? (भिडियो रिपोर्टसहित)

१९ साउन २०७८ काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

सामाजिक सञ्जालमार्फत पारसले अन्तर्राष्ट्रिय क्रिकेटमा करिब २ दशकको यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन् । नेपाललाई ट्वेन्टी–ट्वेन्टी विश्वकपसम्म पुर्‍याएका पारस नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै सफल खेलाडी र कप्तान हुन् ।

यात्राको थालनीसँगै यसको अन्त्य पनि निश्चित नै छ । कसैको यात्रा आफैँमा सिमित हुन्छ त कसैको यात्राले निकै सार्थकता पाउँछ । यस्तै उपलब्धीपूर्ण यात्राका एक यात्री हुन् राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ।

सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका पारसले १७ वर्षको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । संयोग नै मान्न सकिन्छ नेपालले पहिलो एक दिवसीय क्रिकेट खेल जितेकै दिन पारसले सन्यासको घोषणा गरे ।

सन् २०१८ अगष्ट ३ मा नेदरल्यान्ड्सलाई एक रनले हराउँदै नेपालले पहिलो पटक एक दिवसीय खेल जितेको थियो । विश्व क्रिकेट लिग टु को तयारीका क्रममा प्रशिक्षणमा रहेका पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नु धेरैको लागि आश्चर्यजनक बन्यो ।

सन् २००२ मा १५ वर्ष मुनिको एसिया कपबाट उमेर समुहमा डेब्यु गरेका उनले त्यस पछि सन् २००४ मा १९ वर्ष मुनिको विश्वकप खेले । त्यहि साल उनले आईसिसी इन्टरकन्टिनेन्टल कपमा मलेसियाविरुद्ध खेल्दै सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरे । त्यस पछि पनि उनले उमेर समुहका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरे ।

पारसले नेपालका लागि २००४, २००६ र २००८ गरी तीन पटक १९ वर्ष मुनिको विश्वकप खेले । उमेर समुहमा बलियो नेपालले त्यसबेला दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान जस्ता टोलीलाई हराउँदै सनसनी मच्चाएको थियो । उमेर समुहमा समेत नेपाली टोलीको कप्तानी गरेका उनले त्यस समय देशका लागि थुप्रै उपलव्धि दिलाए ।

सन् २००९ मा राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी उनको काँधमा आयो । उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि एक दिवसीय मान्यतासम्म पायो । एसोसिएट क्रिकेटकै सफल अलराउन्डर पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्म उपाधि जितेको छ ।

सन् २०१० को आईसिसी विश्व क्रिकेट लिग डिभिजन पाँच, २०१२ मा डिभिजन चार, २०१३ र २०१४ को डिभिजन तीन जित्दा उनले टोलीको कप्तानी गरे । उनकै कप्तानीमा २०१२ को एसिसी ट्रफीमा नेपाल युएईसंगै संयुक्त विजेता बन्न सफल भयो ।

यसकै बलमा नेपालले पहिलो पटक सन् २०१४ बंगलादेशमा ट्वेन्टी ट्वेन्टी विश्वकप खेल्यो भने २०१८ मा पहिलो पटक ऐतिहासिक एक दिवसीय मान्यता पनि पायो । जुन नेपाली क्रिकेटले पाएको अहिसम्मकै ठूलो सफलता हो । त्यसको एक वर्ष पछि उनले अचानक टोलीको कप्तानी छोडे ।

त्यसयता टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दै आएका छन् । नेपाल क्रिकेट संघ क्यान आईसिसीको निलम्बनमा पर्दा पारस कप्तानसँगै, मेन्टर र खेलाडी छनोटमा पनि अब्बल देखिए ।

टोलीका लागि संकटमोचक बन्ने गरेका पारस एक दिवसीय र ट्वेन्टी ट्वेन्टी इन्टरनेशनल दुबैमा पहिलो शतक प्रहार गर्ने नेपाली खेलाडी हुन् । उनले एक दिवसीयमा सन् २०१९ मा यूएई र त्यसैवर्ष सिंगापुरविरुद्ध ट्वेन्टी ट्वेन्टीमा शतक प्रहार गरेका थिए । पारसले देशका लागि १० एक दिवसीय र ३३ ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेले ।

एक दिवसीयमा उनले १ शतक र १ अर्धशतक सहित ३ सय १५ तथा ट्वेन्टी ट्वेन्टी तर्फ ३३ खेलमा १ शतक र ४ अर्धशतक सहित ७ सय ९९ रन बनाएका छन्। यस बाहेक उनले प्रथम श्रेणीका २, ४४ लिष्ट ए र ५६ ट्वेन्टी ट्वेन्टी खेलेका छन् । मिडियम पेश र अफ स्पिन बलिङ गर्ने पारसले एकदिवसीय अन्तराष्ट्रियमा ९ र ट्वेन्टी ट्वेन्टीमा ८ विकेट समेत लिएका छन् । गत वर्षको नोभेम्बरमा पारस आईसिसी मेन्स एसोसियट प्लेयर अफ द डिकेटको मनोनयनमा समेत परेका थिए ।

गत वर्ष वैशाखमा घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी सिरिजमा चोटका कारण नखेलेका उनी २०२० को मार्चमा थाइल्याण्डमा भएको एसिसी इस्टर्न रिजनमा अन्तिम पटक नेपालको जर्सीमा देखिएका थिए ।

नेपालको पर्यटकीय गन्तव्यलाई आधार बनाएर काठमाडौंबाट विभिन्न ठाउँका लागि व्यवसायीले पर्यटक बस सञ्चालन गर्दै आएका थिए । नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने भएपछि उत्साही हुँदै उनीहरुले नयाँ बस समेत किने । तर कोराना कहरका कारण भ्रमण वर्ष बिचमै स्थगित भयो । झण्डै डेढ वर्षदेखि पर्यटक बस ग्यारेजमा थन्किएका छन् । व्यवसायीको करोडौको लगानी कवाडीमा परिणत हुँदै गएको छ ।

राष्ट्रिय टोलीबाट सन्यास लिएपनि पारसले घरेलु प्रतियोगिता र फ्रेन्चाईजी लिगमा भने निरन्तर रहने बताएका छन् । पारस एउटा यस्तो बहुमुल्य धातु हो जुन सधै चम्किन्छ । अझ यसको प्रसंसा गर्नेले त पारसलाई संगै राखियो भने फलाम पनि सुन बन्छ भन्छन् । पारस खडका पनि त्यसैगरी क्रिकेटमा चम्किए र सुनौलो इतिहास बनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्