समाज

मुख्यमन्त्री पोखरेलको गृह जिल्ला दाङमै सडक निर्माणको यस्तो दुरावस्था (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १६ गते २०:२९
मुख्यमन्त्री पोखरेलको गृह जिल्ला दाङमै सडक निर्माणको यस्तो दुरावस्था (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङको घोराही तुल्सिपुर सडक खण्ड चार लेनको बनाउने भनिए पनि काम अघि बढ्न सकेको छैन ।

लमही–घोराही–तुलसीपुर सडक चारलेन बनाउने भन्दै २०७६ मंसीरदेखि काम शुरु भएको थियो । तर, अहिले सम्म ६ प्रतिशत पनि काम भएको छैन् ।

दाङ घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्ती खौवासम्म करिब २९ किलोमिटर सडक चार लेन बनाउने योजना छ । चारलेन सडक बनाउने भन्दै सडक जीर्ण अवस्थामा पुर्‍याइएको छ । यसले दुर्घटना निम्त्याएको छ । यो बाटो भएर यात्रा गर्नेहरुले पनि धेरै सास्ती भोग्नु परेको छ ।

यो सडकमा यात्रा गर्ने मात्र नभइ सडकका कारण सवारी चालकले पनि समस्या भोगेका छन् ।

यो सडक बनाउन भारतले आर्थिक सहयोग गरेको छ भने भारतको मुम्बईकै तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राइस्ट्रक्चर प्रालिले ठेक्का पाएको थियो ।

मुम्बईको यो कम्पनी आफैं काममा नआएर यहीँकै अष्टभैरव कन्स्ट्रक्सन प्रालिलाई पेटी ठेकेदारका रुपमा काममा लगाएको थियो । त्यसपछि पनि काम गर्न नसकेपछि अहिले भर्खरै ब्रोमाइन निर्माण सेवाले जिम्मा लिएको छ ।

धेरै पटक यो सडकको बारेमा कुरा उठाउँदै आए पनि कतैबाट सुनुवाइ नभएको स्थानीय व्यवसायीको गुनासो छ ।

नागरिकले मात्र नभइ स्थानीय जनप्रतिनिधि पनि सडकको विषयमा आवाज उठाउँदा उठाउँदा हैरान भइसकेका छन ।

समय मै विकास निर्माण गर्न नसक्नुको कारण निर्माण व्यवसायीको कमजोरी भएको भन्दै प्रशासन पनि पन्छिने गरेको छ ।

१ करोड २१ लाख अमेरिकी डलर लगानी रहने निर्माण सडक बन्न लागेको हो । सन् २०२१ अगष्ट ११ मा निर्माणको काम सक्ने सम्झौता भए पनि विभिन्न समयमा विभिन्न कारणले परियोजनाको म्याद थप हुँदा १९ जुन २०२२ मा सडक स्तरोन्नतिको काम सकिनु पर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *