समाज

बुटवलमा खुलेआम यस्तो सडेको माछामासु विक्री वितरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १६ गते १६:५४
बुटवलमा खुलेआम यस्तो सडेको माछामासु विक्री वितरण (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ बुटवल । बुटवलमा खुलेआम रुपमा सडेगलेका माछा मासु विक्री वितरण गर्ने गरेको पाइएको छ । बुटवल उपमहानगरमा अनुगमन हुने तर कारवाही नहुने प्रवृत्तिका कारण गलत काम गरेर नाफा आर्जन गर्नेले प्रश्रय पाएको उपभोक्ताको गुनासो छ ।

यो दृश्य बुटवल उपमहानगरपालिकाको नेपालगन्ज रोडमा रहेको सद्दाम मासु तथा माछा पसलको हो । यहाँबाट ३८ किलो कुहिएको माछा बरामद गरिएको छ ।

अनि यो दृश्यचाहिं अस्पताल लाइनको भुड्की चोकमा रहेको ताहिर मासु तथा माछा पसलको हो । जहाँ २५ किलो खसी बोकाको सडेको टाउको फेला परेको छ ।

बुटवलमा अस्वस्थ्यकर मासु विक्री वितरण गर्ने गरेको भन्दै उपभोक्ताबाट गुनासो आएपछि बुटवल उपमहानगरपालिकाले बल्ल अनुगमन सुरु गरेको हो ।

अनुगमन गर्दा कुहिएको माछा मासु विक्री वितरण गरेको पाइए पनि उपमहानगरपालिकाले कारबाहीका लागि कुनै प्रक्रिया भने अघि बढाउन सकेन ।

अनुगमन टोलीले सडेको माछामासु बेच्दै गरेको रङ्गेहात फेला पारेपनि व्यवसायीलाई सम्झाइबुझाई गर्दै उन्मुक्ति दिएको छ । माछामासु पसलको अनुगमनमा बुटवलमा ८० किलोभन्दा बढी सडेको माछामासु बेच्दै गरेको फेला पारेपनि बेच्नेहरुलाई चेतावनी मात्र दिएर छाडिएको हो ।

बुटवलको नेपालगन्ज रोड र भुड्की चोकका मासु पसलेहरुले खुल्लेआम सडेगलेको माछामासु बेच्दै गरेको समितिले फेला पारेका छ । टोलीले बुटवलको अस्पताल लाइनसँगै ईटाभट्टी क्षेत्रका मासु पसलहरुको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका माछा मासु तथा मासुजन्य पदार्थ राखिएको, पसलमा सफासुग्घर नगरिएको, माछा, मासु र तिनको रगतजन्य पदार्थलाई एकै ठाउँमा पोको पारेर राखेको अवस्थामा फेला पारिएको र त्यसलाई नष्ट गरिएको छ ।

पसललाई सुधार गर्न र उपभोक्तामैत्री बनाउन अनुगमन टोलीले निर्देशन दिएको छ । उपमहानगरले बजार अनुगमन कार्यविधि बनाएर लागू गरेपनि त्यसको कार्यान्वयन फितलो भएका कारण कानूनविपरीत काम गर्नेहरुलाई निरुत्साहित बनाउन नसकेको पाइएको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *