‘ऐनापहरा झरना’ मा पर्यटकको यस्तो आकर्षण (भिडियो रिपोर्टसहित)
१६ साउन २०७८ तनहुँ । कोरोना सङ्क्रमणका कारण पर्यटकीयस्थल सुनसान भइरहेका बेला पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा पर्ने एउटा झरनामा भने पर्यटकको भीड लाग्ने गरेको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ‘‘ऐना पहरा झरना’’ मा रमाउन जानेको संख्या बढेको छ ।
वर्षासँगै तनहुँको आँबुखैरेनी गाउँपालिकाको ऐना पहराको झरनाले ठूलो रुप लिँदै गएको छ । पृथ्वीराजमार्गको यात्राको क्रममा यात्रुहरुलाई यो झरनाको सुन्दरताले केहीबेर लोभ्याउने गरेको छ ।
आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ र ४ को सिमानामा पर्ने झरनामा तनहुँकै अग्लो महाभारत श्रृङ्खला छिम्केश्वरीको फेदीबाट सिउदी खोलाको पानी बगेर आएको छ । यतिबेला झरना गर्मी छल्ने, थकाई मेट्ने, टिकटक बनाउने तथा फोटो खिच्नेको रोजाई बनेको छ ।
झरनामा युवायुवती, स्थानीय केटाकेटी दिनहुँ सयौँको सङ्ख्यामा नुहाउन र रमाउन जान थालेका छन् । निजी सवारीमा राजमार्गमा यात्रा गर्ने धेरैजसो पर्यटक झरना देखेपछि रोकिएकै हुन्छन् ।
विशेष गरी बिदाको समयमा तनहुँका अतिरिक्त गोरखा, चितवन र काठमाडौंका बासिन्दा झरनामा रमाउन पुग्ने गरेका छन् ।
पछिल्लो समय झरना ‘रिफ्रेस स्टेशन’ को रुपमा विकास हुन थालेपछि आँबुखैरेनी गाउँपालिकाले पूर्वाधार निर्माणमा ध्यान दिन थालेको छ । र गाउँपालिकाले बजेट नै विनियोजन गरेको छ ।
गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारसँगै रहेको यो झरनालाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी गाउँपालिकाले गुरु योजना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया