समाज

कैलाली र कञ्चनपुर जोड्न पुल त छ तर अपुरो अनि प्रयोगविहीन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १५ गते १७:४१
कैलाली र कञ्चनपुर जोड्न पुल त छ तर अपुरो अनि प्रयोगविहीन (भिडियो रिपोर्टसहित)

१५ साउन २०७८ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट जोड्ने पक्की पुलको निर्माण कार्य शुरु भएको ७ वर्ष पूरा भएको छ ।

तर पुल भने अझै अधुरो छ । प्रदेशको अस्थायी राजधानी छेउमै रहेको यो पुल निर्माणका बारेमा स्थानीय तहका प्रमुखदेखि मुख्यमन्त्रीलाई समेत राम्रोसँग थाहा छ । तर समयमै काम सम्पन्न नहुँदा नदीले समेत धार परिर्वतन गर्दै गएपछि पुल नै प्रयोगविहीन हुने अवस्थामा पुगेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका जोड्ने मोहना नदीको पुल निर्माणका लागि २०७१ साल असार ३१ गते एलाइड एडभेञ्चरसँग ठेक्का सम्झौता भएको थियो।

पुल निर्माणमा ठेकेदारले चरम लापरबाही गर्दै ७ वर्षसम्म सम्पन्न नगरेको भन्दै स्थानियबासिन्दा आक्रोशित छन् । ठेकेदारको लापरबाहीलाई हेर्दै कर्मचारी र नेताहरु समेत मुकदर्शक बनेको आरोप स्थानीय बासिन्दाको छ ।

मोहना नदीले राजघाटतर्फको जमिन कटान गरेपछि पुलभन्दा अगाडिबाट नदी बग्ने सम्भावना बढेको छ । नदीमा आएको बाढीले कृष्णपुर राजघाटतर्फको जमिन कटान गरेको छ। यो भागमा तत्त्काल तटबन्ध नगरे नदी मानव बस्तीमा पस्ने तथा नदी एकातिर र पुल अर्कोतर्फ हुने सम्भावना छ।

धनगढी र कृष्णपुरका नागरिकको दैनिकीसँग जोडिएको यो पुल निर्माण नहुँदा सास्ती भइरहेको छ । नदी माथि निर्माणाधिन पुलको काम सम्पन्न भए धनगढी राजघाट १० मिनेटमा आवातजावत गर्न सकिने अवस्था छ । तर अहिले भने कृष्णपुर राजघाट लगायतका गाउँका बासिन्दाले गुलरिया, अत्तरिया हुँदै धनगढी आउनु पर्ने बाध्यता छ ।

धनगढीको चटरपुरदेखि राजघाट जोड्ने पुलको लम्बाई एक सय २० मिटर छ। निर्माण कम्पनी एलाइड एडभेञ्चरले अहिले निर्माण भइरहेको पुलको दुवैतर्फ एक सय मिटर लम्बाईमा ग्रावेल मात्रै हाल्ने जनाएको छ ।

८ करोड ४२ लाखमा निर्माण भइरहेको पुल प्रयोगमा ल्याउनका लागि नदी कटानको जोखिमलाई रोक्नु पर्ने देखिएको छ। नदी कटान रोक्नका लागि स्थानीय तहले पनि आफ्नो क्षेत्रबाट पहल गर्ने आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *