टोकियो ओलम्पिकमा नेपाली पौडीबाज शाहको राष्ट्रिय कीर्तिमान

१२ साउन २०७८ काठमाडौं । टोकियो ओलम्पिकमा नेपाली पौडीबाज एलेक्जेन्डर गाडेगार्ड शाहले पुरुष १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
टोकियो अक्वाटिक्स सेन्टरमा आज भएको पुरुष १ सय मिटरको हिट वानमा ५३ दशमलव ४१ सेकेन्डमा दुरी पुरा गर्दै एलेक्सले कीर्तिमान बनाएका हुन् । उनले आफ्नै नाममा रहेको ५५ दशमलव ३८ सेकेन्डको कीर्तिमान सुधार गरेका छन् ।
हिट वानमा एलेक्ससँगै कोसोभो, प्यालेस्टाइन, गुयना, भुटान, माल्दिभ्स र सोलोमन आइल्यान्डका गरी सात खेलाडीले प्रतिस्पर्धा गरेका थिए । हिटमा पहिलो भएपनि उनी अर्को चरणमा पुग्न भने असफल बने ।
यस स्पर्धामा सहभागी ७१ खेलाडी मध्ये उनी ५९ औं स्थानमा रहेका थिए । हिट चरणमा कम समय निकाल्ने उत्कृष्ट १६ पौडिबाज सेमिफाइनलमा पुगेका छन् । टोकियो ओलम्पिकमा अब नेपालको तर्फबाट अर्का पौडीबाज गौरिका सिंह र एथ्लेटिक्सकी सरस्वती चौधरीको खेल बाँकी छ ।
गौरिकाले महिला १ सय मिटर फ्रिस्टाइलमा भोली र एथलेटिक्सकी सरस्वतीले महिला १ सय मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछिन् ।
यसअघि सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी थिईन् ।
प्रतिक्रिया