खेलकूद

एभरेष्ट प्रिमियर लीग खेल्न शाहिद अफ्रिदी नेपाल आउँदै, को हुन् अफ्रिदी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १२ गते १५:१६
एभरेष्ट प्रिमियर लीग खेल्न शाहिद अफ्रिदी नेपाल आउँदै, को हुन् अफ्रिदी ? (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपिएल खेल्ने भएका छन् । ईपिएलको फ्रेन्चाइज टोली काठमाडौं किङ्स इलाभेनले आज विदेशी खेलाडीका रुपमा अफ्रिदीलाई सार्वजनिक गरेको हो । अफ्रिदी नेपाली लीग खेल्ने अहिलेसम्मकै सफल विदेशी खेलाडी हुन् ।

पाकिस्तानी क्रिकेट खेलाडी शाहिद अफ्रिदीले एभरेष्ट प्रिमियर लिग ईपिएल ट्वेन्टी ट्वेन्टी खेल्ने पक्का भएको छ । चौंथो संस्करणको ईपिएलका लागि उनलाई फ्रेन्चाइज टोली काठमाडौं किङ्स इलाभेनले अनुबन्ध गरेको हो । उनी नेपाली लीग खेल्ने अहिलेसम्मकै हेभिवेट खेलाडी हुन् ।

यसअघि रिचर्ड लेभी, पल स्टरलिङ, केभिन ओ ब्रायन जस्ता खेलाडीले इपिएल खेलेका थिए । गत वर्ष हुने भनिएको ईपिएलमा पनि विश्व चर्चित खेलाडी क्रिस गेल, एबि डी भिल्लीयर्स जस्ता खेलाडी आउने चर्चा थियो । तर कोरोनाका कारण प्रतियोगिता हुन सकेन् ।

भिडियो कन्फ्रेन्स मार्फत् पत्रकार सम्मेनलमा जोडिएका अफ्रिदीले नेपालको क्रिकेटका विषयमा खासै जानकारी नरहेपनि यहाँ क्रिकेटको राम्रो क्रेज रहेको बताए । पहिलो पटक नेपालमा क्रिकेट खेल्न लाग्दा आफु उत्साहित रहेको र यस्तो प्रतियोगिताले युवा खेलाडीलाई सहि प्लेटफर्म दिने बताए ।

टेलिहोल्डिङस् प्रालीको स्वामित्वमा रहेको काठमाडौं किङ्स इलाभेनले उनलाई के कति मूल्यमा टोलीमा अनुबन्ध गरेको भन्ने खुलाएको छैन ।

पाकिस्तानका लागि सन् १९९६ मा केन्याविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका अफ्रिदीले २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । यसबीचमा उनले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एक दिवसीय र ९९ ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेका छन् । आक्रामक ब्याट्सम्यानको छबी बनाएका उनी घातक लेग स्पिनर पनि हुन् ।

अफ्रदीले सन् १९९६ मा श्रीलंकाविरुद्ध एकदिवसीयमा ३७ बलमा शतक प्रहार गरेर कीर्तिमान बनाएका थिए । १८ वर्षपछि मात्रै त्यो तोडिएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि अफ्रिदी पछिल्लो समय विश्वभरका फ्रेन्चाईज लिगमा व्यस्त छन् । गत फेब्रुअरीमा उनी पाकिस्तान सुपर लिग पिएसएलमा मुल्तान सुल्तानबाट खेलेका थिए ।

पिएसएलको पहिलो र दोस्रो संस्करण पेसेवर जलमीबाट खेलका उनले दोस्रो संस्करण टोलीलाई उपाधि जिताएका थिए । त्यसपछि उनी कराँची किङ्स र मुल्तान सुल्तानबाट पिएसएलमा देखिएका थिए । देश बाहिर अफगानिस्तान प्रिमियर लिग, ग्लोवल ट्वेन्टीट्वेन्टी क्यानडा, युरो ट्वेन्टी ट्वेन्टी स्लाम, बंगलादेश प्रिमियर लिग पनि उनले खेलेका छन् ।

अफ्रिदीसँगै काठमाडौं किङ्स इलाभेनमा मार्की खेलाडी सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, जितेन्द्र मुखिया, सुबास खकुरेल लगायत छन् । ६ वटा फ्रेन्चाईज टोली सहभागी हुने ईपिएल असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्