समाज

सखुवा प्रसौनी–१ सखुवनिया सुकुम्बासी बस्तीमा डिभिजन वन कार्यालय पर्साको तारजाली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ११ गते १८:१३
सखुवा प्रसौनी–१ सखुवनिया सुकुम्बासी बस्तीमा डिभिजन वन कार्यालय पर्साको तारजाली (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ सखुवनियामा सुकुम्बासी बस्दै आएको जग्गामा डिभिजन वन कार्यालय पर्साले तारजाली लगाएको छ । जसका कारण सखुवनियाको शान्ति टोल र टाडी टोलमा २०३६ सालदेखि बस्दै आएका नागरिक समस्यामा परेका छन् ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ सखुवनियाको शान्ति टोल र टाडी टोलमा २०३६ सालदेखि मानिसको बसोबास छ । तर अहिले उनीहरुलाई त्यहाँबाट हटाउने भन्दै डिभिजन वन कार्यालय पर्साले तारजाली लगाएको छ । वर्षौँदेखि बस्दै आएको जग्गामा वन कार्यालयले वृक्षरोपण गर्ने भन्दै तार बार लगाएपछि उनीहरु समस्यामा परेका छन् ।

२०३६ सालअघि यो जग्गा खालि थियो । पहाडबाट झरेका र वरपरका सुकुम्बासीले यो खाली जग्गामा खेती गर्न थाले । घर बनाएर उनीहरु यही बस्न थाले । तर अहिले बन कार्यालयले जग्गामा बार लगाइदिएको छ । एक महिना भित्र नहटे घर भत्काइदिने चेतावनी दिएको छ ।

त्यसैले सुकुम्बासीहरु अब बालबच्चा लिएर कहाँ जाने भन्ने चिन्तामा छन् ।आफूहरुलाई नहटाउन स्थानीय सरकारलाई पनि हारगुहार गरेका छन् तर कहीँबाट सुनुवाई भएको छैन ।

तर गाउँपालिकाले भने सुकुम्बासीलाई तत्काल नहटाउन बन कार्यालयलाई आग्रह गर्दै आएको छ । डिभिजन वन कार्यालय पर्साले आर्थिक वर्ष २०७७–०७८ को राष्ट्रिय वन संरक्षण नीति कार्यक्रम अन्तर्गत अतिक्रमित वन खाली गराई तारबार लगाई विरुवा रोप्ने काम शुरु गरेको छ ।

सुकुम्बासीलाई गाउँपालिकाले बसोबासको व्यवस्था मिलाउनु पर्ने वन कार्यालयको भनाइ छ । यो जग्गा जुनसुकै हालतमा पनि खाली गर्ने अडानमा रहेको बन कार्यालय यहाँ सामुदायिक वन बनाउन सकिने र त्यसबाट स्थानीय बासिन्दालाइ नै फाइदा हुने बताउँछ ।

कहीँ सुकुम्बासीका नाममा त कही अरु नाममा सरकारी जग्गा कब्जा गर्ने क्रम देशभर नै जारी छ । यस्तोमा सम्बन्धित निकायले सरकारी र वनको जग्गा खाली गर्नु सकरात्मक हो । तर त्यो जग्गा खाली गर्दा त्यहाँ बसिरहेका मानिसको बिचल्ली भने हुनुहन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *