जेलबाट निर्वाचन आयोग पुगेका रेशम चौधरी किन बसे तटस्थ ? (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाको विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।
निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।
सांसद चौधरीले भन्नुभयो, “जेलबाट आएर एउटा पक्ष र विपक्षमा सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन, मेरा लागि पक्ष जसपा हो र विपक्ष पनि जसपा हो, म जसपाको एउटा कार्यकर्ता हुँ, आज राजनीतिक मुद्दाका कारणले म जेल बस्नुपरेको छ, मेरो मुद्दामा राजनीतिक दल, मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरुको दृष्टिकोण हो ।”
डिल्लीबजार कारागारबाट आयोगमा उपस्थित भएका चौधरीले महन्थ ठाकुर र उपेन्द्र यादवसित छलफल गरेपछि तटस्थ बस्ने निर्णय गरेका हुन् ।
आफू अन्यायमा परेको भन्दै चौधरीले न्यायको माग गरे । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएपछि चौधरी जेलमा छन् ।
उनी ०७४ सालको चुनावमा कैलालीबाट राजपाका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर दोषी ठहर भएपछि उनी जेलमा छन् ।
प्रतिक्रिया