एन्फा उपाध्यक्ष थापाद्वारा टेक्निकल कमिटीबाट राजीनामा

८ साउन २०७८ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)का उपाध्यक्ष कृष्णबहादुर थापाले टेक्निकल कमिटी संयोजकबाट राजीनामा दिएका छन् ।
आफ्नो जानकारीबिना विधान विपरीत एन्फामा प्रशिक्षक नियुक्तिदेखि खेलाडी छनोट गरिएको भन्दै उनले टेक्निकल कमिटीको संयोजक पदबाट राजीनामा दिएका हुन् ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई बुझाएको राजीनामा पत्रमा आफ्नो जानकारी बिना राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षकको करार अवधि थप्ने, एकेडेमी लागि १३ वर्ष मुनिका खेलाडीको अन्तिम नामवली प्रकाशन गर्ने, बि लाइसेन्स कोर्ष आयोजना र महिला टोलीको सहायक प्रशिक्षक नियुक्त गरेको भन्दै संयोजक पदमा बस्न नसकिने उल्लेख छ ।
पछिल्लो समय एन्फा भित्र एक पछि अर्को विवाद बाहिर आइरहेका छन् । गत मंगलबार मात्र काम गर्ने वातावरण नभएको भन्दै एन्फा होस्टल व्यवस्थापन समितिका ३ जनाले संयुक्त रुपमा राजीनामा दिएका थिए ।
त्यसअघि असन्तुष्ट पक्षका पदाधिकारीहरुले केन्द्रीय कार्य समितिको बैठक बस्न माग गरेका थिए ।
प्रतिक्रिया