समाज

बाँकेमा बाल विवाह रोक्ने प्रयास, किशोरी क्लबको सक्रियता सार्थक बन्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ६ गते १५:२३
बाँकेमा बाल विवाह रोक्ने प्रयास, किशोरी क्लबको सक्रियता सार्थक बन्दै (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ बाँके । बाँकेमा अझै पनि लुकिछिपी छोरीको विवाह २० वर्ष नपुग्दै हुने गरेको छ । लुकिछिपी बाल विवाह हुने क्रम नरोकिए पछि बाल क्लब, प्रहरी र स्थानीय सरकारले बाल विवाह नियन्त्रणका लागि अभियान संचालन गर्दै आएका छन् । अहिले त्यसको परिणाम पनि देखिन थालेको छ ।

बाँकेका स्थानीय सरकारले बाल विवाहमुक्त वडा घोषणा गर्ने अभियान शुरु गरेका छन् । यही क्रममा बाल विवाह नियन्त्रणका लागि तय गरिएका सूचकांक पूरा भएपछि नेपालगन्ज उपमहानगरपालिकाका ४ वटा वडा बाल विवाहमुक्त घोषणा भएका छन् । वडा नम्बर १, २, १० र १२ लाइ बाल विवाहमुक्त घोषणा गरिएको हो ।

बाल विवाह नियन्त्रणका लागि बाँकेका ८ वटा स्थानीय तहमा ४२ वटा किशोरी क्लब सक्रिय छन् । ति क्लबमा आवद्ध करिव १ हजार किशोरीले सचेतना जगाउने, बाल विवाह हुन लागेको थाहा पाए जनप्रतिनिधि र प्रहरीलाई खबर गर्दै आएका छन् । बाल विवाह रोक्न खोज्दा उनीहरुलाई एसिड आक्रमणको धम्की पनि आउने गरेको छ । तर त्यसको परवाह नगरी किशोरी सक्रिय छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले बाल विवाहमुक्त उप महानगरपालिका बनाउने लक्ष्यका साथ जनप्रतिनिधि, नागरिक समाजका अगुवा, बाल क्लब, प्रहरी प्रशासनसँग समन्वय गरेर अभियान संचालन गर्दै आएको छ ।

बाल क्लबको सक्रियताका कारण यो वर्ष बाँकेमा ४५ वटा बाल विवाहका घटना रोकिएका छन् । बाल विवाह नियन्त्रणका लागि अभिभावकलाई सम्झाउने बुझाउने र अटेर गरे कानूनी कारबाही शुरु गर्ने गरिएको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा बीस वर्ष नपुगी विवाह गर्न वा गराउन पाइँदैन । २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुन्छ । कसुर प्रमाणित भए विवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । तर पनि बाल विवाह रोकिन सकेको छैन ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *