पानी निकासका विषयमा धनगढीका २ वटा वडाका बासिन्दाबीच यस्तो द्वन्द्व (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पानी निकास नहुँदा वर्षेनी डुवान हुने गरेको छ । एकातर्फ खोलानाला मिचिएर पानी निकास रोकिएको छ भने अर्कोतर्फ भएका नालीसमेत बन्द छन् ।
उपमहानगरले यी खोला नाला खोलेर पानी निकासको व्यवस्थापन गर्न नसक्दा सानो झरीमै उपमहानगर जलमग्न बन्ने गरेको छ । पानी निकासकै विषयमा अहिले धनगढीका २ वटा वडाका बासिन्दाबीच द्वन्द्व चर्केको छ ।
धनगढी उपमहानगरपालिकामा पानीको निकासको विषयमा वडा नम्बर २ र ३ बीच विवाद छ । वडा नम्बर ३ बाट बग्ने पानीले डुवान हुने भन्दै २ का बासिन्दाले नालानै बन्द गरिदिएका छन् ।
पानीको बहाव रोकिएपछि वडा नम्बर ३ का करिब ८ सय घरमा पानी पसेको छ । तर वडा नम्बर २ का बासिन्दाले भने पानीले डुबान हुने भन्दै कुनै पनि हालतमा निकास नदिने अडान लिएका छन् । मिचिएका नाला खोलेर सबै क्षेत्रको डुवान अन्त्य गर्न उपमहानगरपालिका लाग्नु पर्ने उनीहरुको माग छ ।
डुबान रोकथामका लागि उपमहानगरपालिका, प्रदेश र संघीय सरकारले पटक पटक आश्वासन मात्रै दिने गरेको भन्दै वडाध्यक्षले आक्रोश पोखेका छन् । सबैले मिलेर यसको निकास खोज्नु पर्ने उनीहरुको सुझाव छ ।
धनगढी नगर विकास हुँदा खोला नालासमेत विक्री गरेपछि पानीको निकास बन्द भएको हो । तत्कालका लागि केही नाला बनाएर वा ह्वीम पाइप हालेर डुबान समस्या कम भए पनि दीर्घकालिन समाधानका लागि मिचिएका खोला नाला खोल्न जरुरी छ ।
प्रतिक्रिया