समाज

बागलुङ नगरपालिका क्याम्पस रोड–कालोपत्रे गरेको एक महिना नबित्दै बिग्रियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ५ गते १४:५६
बागलुङ नगरपालिका क्याम्पस रोड–कालोपत्रे गरेको एक महिना नबित्दै बिग्रियो (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर २ क्याम्पस रोडमा गरिएको कालोपत्रे एक महिना नबित्दै बिग्रिएको छ । बजारको अति व्यस्त सडकमा कालोपत्रे भत्किएर खाल्डा खुल्डी परेर हिलाम्मे भएको छ ।

यो बागलुङ नगरपालिका २ क्याम्पस चोकको बाटो हो । यो बाटो भएर बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, २ नम्बरका वडाध्यक्ष जीवन शर्मा, योजना अधिकृत युक्तप्रसाद सुवेदीलगायत जनप्रतिनिधि तथा सरोकारवाला दिनहुँ ओहोरदोहोर गर्छन् । तर यो सडक कालोपत्रे गरेको एक महिनामा भत्किए पनि कसैलाई कुनै चासो छैन ।

आरएस निर्माण सेवाले गत फागुन २३ गते १५ लाख रुपैयाँमा सडकको स्तारोन्नती तथा नाली निर्माणको जिम्मा पाएको थियो । चैतको पहिलो हप्ता काम थालेको कम्पनीले जेठको अन्तिम हप्ता काम सम्पन्न गर्‍यो । त्यसको एक महिना नपुग्ने सडको कालोपत्रै भत्किन थाल्यो । गुणस्तरीय काम नभएकाले सडक भत्किएको स्थानीय बासिन्दाको आरोप छ ।

बागलुङ नगरपालिकाले चोक सुधार अभियानअन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर २ गोल्डेन गेटदेखि क्याम्पस गेटसम्मको जीर्ण सडक स्तरोन्नतीसँगै कालोपत्रे गरिएकोमा त्यसको केही समयमा उप्किएको हो । स्थानीय बासिन्दाले निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्न सुझाव दिएका छन् ।

विकासको नाममा बर्खा सुरु भएपछि असारमा जथाभावी रूपमा सडक कालोपत्रे गर्ने तर त्यसको राम्रोसँग अनुगमन नहुनाले व्यस्त सडकमा प्रत्येक वर्ष समस्या देखिने गरेको छ । बागलुङ नगरपालिकाले भने बाटो सुधार नभएसम्म भुक्तानी नदिने जनाएको छ ।

हचुवाको भरमा सडक कालोपत्रे गर्ने, हचुवाकै भरमा मूल्याङ्कन गर्ने र कालोपत्रे गरेझैं गरेर रकम पचाउने काम मात्र भएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *