मृत फेला परेकी सुजिताको अन्त्येष्टि, पत्ता लागेन हत्यारा
४ साउन २०७८ चितवन । मृत अवस्थामा फेला परेकी चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की सुजिता भण्डारीको आज अन्त्येष्टि गरिएको छ ।
पोष्टमार्टमका लागि काठमाडौंमा ल्याइएको शव चितवन पुगेपछि परिवारले आजै बुझेका थिए । चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने आश्वासन दिएपछि परिवारले शव बुझेको हो ।
यसअघि परिवार र स्थानीयले सुजिताको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए । चितवन प्रहरीका अनुसार सुजिताको भिसेराको रिपोर्ट आइसकेको छैन । भिसेराको रिपोर्ट आएपछि सुजिताले मृत्युअघि के खाएकी थिइन पत्ता लाग्ने छ ।
पोस्टमार्टम रिर्पोटमा सुजिताको शरीरमा कुनै चोटपटक नलागेको र बलात्कार पनि नभएको उल्लेख छ । असार ११ गतेदेखि बेपत्ता सुजिता ब्रह्मास्थानी सामुदायिक वनमा असार २० गते मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रतिक्रिया