खेलकूद

सुदूरपश्चिम प्रदेश : गोदावरी क्षेत्रमा राजधानी निर्माण र फाप्ला क्रिकेट रङ्गशाला अलपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ४ गते १४:४३
सुदूरपश्चिम प्रदेश : गोदावरी क्षेत्रमा राजधानी निर्माण र फाप्ला क्रिकेट रङ्गशाला अलपत्र (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ धनगढी । सुदूरपश्चिमको राजधानी तोकिएको गोदावरी वन क्षेत्र र धनगढीमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणलाई सुदूरपश्चिम सरकारले हरेक वर्षको बजेटमा प्राथमिकता दिने गरेको छ ।

तीन वर्षयता जमिनको स्वामित्वमा अल्झिएका यी दुवै परियोजनामा संघ सरकारले प्रदेशलाई न त स्वामित्व दिन्छ न त प्रदेशले वार्षिक बजेट विनियोजन गर्न छोड्छ । यसरी संघ र प्रदेशको समन्वय नमिल्दा यी दुवै परियोजनामा विगत तीन वर्ष यता सुदूरपश्चिम सरकारले विनियोजन गरेको झन्डै १८ करोड रुपैयाँ बजेट फ्रिज भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने भनेर प्रदेश सरकारले प्रदेश गौरवकै आयोजनामा राखेको छ । तर विगत तीन वर्षमा सवा सात करोड बजेट विनियोजन गरिएको प्रदेशको यो आयोजनाले जमिनको स्वामित्व विवाद निरूपण भएको छैन ।

प्रदेश सभाबाट पारित गोदावरी राजधानीको पनि जमिनको स्वामित्व नै प्रदेश मातहतमा आउन सकेको छैन । यसरी प्रदेश गौरवका आयोजना नै ओझेलमा परेको छ ।

प्रदेश सभाबाट तीन वर्ष अघि गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने तेघरी सामुदायिक वनमा प्रदेशको राजधानी बनाउने प्रस्ताव पारित भयो । तत्कालीन नेकपाको बहुमतीय दम्भले पारित प्रस्ताव कार्यान्वनको दिशामा अघि बढ्न सकेन ।

प्रदेश सरकारले विगत तीन वर्षमा राजधानीका लागि साढे १० करोड बजेट विनियोजन पनि गर्‍यो । तर त्यसले परिणाम भने पाउन सकेको छैन । प्रदेश सरकारले ल्याएको बजेट तथा कार्यक्रमलाई अब भने प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रदेश सरकारको दावी छ ।

गोदावरीमा जमिनको स्वामित्व प्रदेशलाई प्राप्त भए पनि रुख कटानी र जङ्गल फडानीमा पनि फेरी सङ्घकै अनुमति लिनुपर्ने झन्झट प्रदेशसँग रहने छ ।

प्रदेशले नतिजामुखी भन्दा आफ्नो दम्भ देखाउनकै लागि यसरी बर्सेनि करोडौँ बजेट कार्यान्वयनहीन कार्यक्रममा विनियोजन गर्नु दुरुपयोग सरह हो । त्यसैले प्रदेश सरकारले परिणाममुखी काम तर्फ बजेट केन्द्रित गराउन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्