आर्थिक

आर्थिक वर्षको अन्तिम दिन हिजो एकैदिन २९ अर्ब ६९ करोड बढीको भुक्तानी

हिमालय टिभी
२०७८ साउन १ गते ७:१८
आर्थिक वर्षको अन्तिम दिन हिजो एकैदिन २९ अर्ब ६९ करोड बढीको भुक्तानी

१ साउन २०७८ काठमाडौं । चालु आर्थिक वर्ष २०७७– ७८ को अन्तिम दिन हिजो असार ३१ गते सरकारले वर्षभरिकै उच्च भुक्तानी गरेको छ ।

महालेखा नियन्त्रण कार्यालयका अनुसार सरकारले आर्थिक वर्ष सकिनै लाग्दा हिजो एकै दिन अधिकतम २९ अर्ब ६९ करोड माथिको भुक्तानी दिएको हो ।

यस्तो भुक्तानी नियमित अर्थात् चालु खर्चतर्फ ६ अर्ब ४२ करोड ५ लाख रुपैयाँ र पूँजीगत खर्चतर्फ अधिकतम १५ अर्ब ९७ करोड ७७ लाख भएको छ भने बाँकी ७ अर्ब २९ करोड ५५ लाख सरकारले वित्तीय व्यवस्थामा भुक्तानी दिएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

तर, आर्थिक वर्ष भरीको बजेट खर्चमा भने, सरकारले असार ३१ गतेसम्ममा कुल विनियोजित खर्चको ८० दशलमलव ०३ प्रतिशत अर्थात् ११ खर्ब ८० अर्ब १७ करोड ४ मात्र खर्च गर्न सकेको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ । जबकि चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट विनियोजन गरेको थियो ।

महालेखा नियन्त्रकका अनुसार चालु आर्थिक वर्षको अन्तिम दिन चालु खर्च तर्फ कुल ८ खर्ब ५१ अर्ब ४५ करोड ७९ लाख अर्थात् विनियोजित बजेटको अधिकतम ८९ दशमलव ७३ प्रतिशत खर्च भएको छ भने, पूँजीगत खर्चतर्फ जम्मा २ खर्ब २७ अर्ब ७३ करोड ८४ लाख अर्थात् विनियोजित बजेटको ६४ दशमलव ५३ प्रतिशत खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्चका लागि कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

चालु आर्थिक वर्षको अन्त्यसम्म सरकारले साढे ८ खर्ब माथिको राजस्व उठाउन सफल भएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार असार मसान्तसम्म सरकारले लक्ष्यको अधिकतम ९३ दशलमव ४१ प्रतिशत अर्थात् ८ खर्ब ५२ अर्ब ८० करोड ८८ लाख रुपैयाँ राजस्व उठाउन सफल भएको हो । आर्थिक वर्षका लागि सरकारले कुल ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ राजस्वको लक्ष्य राखेको थियो ।

सरकारले चालु आर्थिक वर्षका लागि आय व्ययसहित कुल अनुमति १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट छुट्याएको थियो । उक्त विनियोजित बजेट मध्ये आर्थिक वर्षको अन्तिम दिन सम्म जम्मा ११ खर्ब ८० अर्ब १७ करोडको मात्र खर्च गर्न सकेको छ ।

यो हिसाबले चालु आर्थिक वर्षका लागि छुट्याइएको खर्चमध्ये करिब ३ खर्ब रुपैयाँ बराबरको बजेट सरकारले खर्च गर्न सकेन । यो हिसावले कुल बजेटको करिब २० प्रतिशतले हुन आउने २ खर्ब ९४ अर्ब बढी बजेट फ्रिज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *