आर्थिक

बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

हिमालय टिभी
२०७८ असार २८ गते १३:११
बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

२८ असार २०७८ काठमाडौं । बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ ।

असार १ गते प्रदेश सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट बहुमतले पारित भएको बागमती प्रदेशसभाका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो ।

आज बिहान बसेको संसद बैठकले प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ पारित गरेसँगै बजेट पनि बहुमतले पास भएको अमात्यले जानकारी दिनुभयो ।

यसअघि आइतबार बसेको संसद बैठकले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको थियो। प्रदेश सरकारले आर्थिक वर्ष ०७८–७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ। सरकारले क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार विनियोजन गरेको छ ।

यस्तै पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख ४ हजार रुपैयाँ विनियोजन गरेको छ । बजेटबाट चालूतर्फ ४५ प्रतिशत, पूँजीगततर्फ ५१ प्रतिशत र वित्तीयतर्फ ४ प्रतिशत खर्च हुने अनुमान गरिएको छ। सरकारले बजेटको स्रोतमध्ये कर तथा राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख अनुमान गरेको छ ।

संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालू आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *