आर्थिक

कौशी खेतीमा चितवनका गृहिणीको आकर्षण खाली समयको सदुपयोग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २७ गते १४:३०
कौशी खेतीमा चितवनका गृहिणीको आकर्षण खाली समयको सदुपयोग (भिडियो रिपोर्टसहित)

२७ असार २०७८ चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ११ दीपज्योति टोलमा छिरेपछि हरेक घरमा तरकारी खेती देख्न सकिन्छ । आमा समूहको सक्रियतामा यहाँका गृहिणी महिलाले कौशी खेती गर्दै आएका छन् ।

दिपज्योति टोलमा लोभलाग्दो देखिने गरी आमा समूहमा आवद्ध महिलाले कौशीमा तरकारी खेती गर्दै आएका छन् ।

स्थानीय सुनिता कार्की आफ्नो फुर्सदको समय कौसीमै बिताउनुहुन्छ । घरको काम धन्दा सकिएपछि समय कटाउने बाटो पनि भएको छ । तरकारी किनेर खान पनि परेको छैन । विगत एक वर्षदेखिको कौसी खेतीका कारण समय र पैसाको वचत भएको छ ।

सुनिताजस्तै विष्णु आचार्यको फुर्सदको समय तरकारी गोड्ने, पानी हाल्ने र मल राख्नेमै बित्छ । उहाँले कौसीमा बोडी, काँक्रो, साग, घिरौँला, कागती लगायत फलाउनु भएको छ ।

अर्चना देवकोटालाई शुरुआतमा केही समस्या हुन्छ कि भन्ने लागेको थियो । तर अहिले सहज भएको छ । तरकारी खेतीबाटै उहाँले नुनतेलको खर्च समेत उठाउने गर्नुभएको छ ।

कृषि ज्ञान केन्द्र भरतपुरको ५० प्रतिशत अनुदानमा कौसी खेती कार्यक्रम प्रवर्द्धन गरिएको छ । टोल विकास संस्थामा आवद्ध सबै २ सय ५ घरधुरीमा कौसी खेती हुँदै आएको छ । यसमा ज्ञान केन्द्रले सहयोग गरिरहेको छ । २५ जनाभन्दा बढीको समूह बनाएर आउनेलाई प्रतिव्यक्ति रु १० हजारसम्म अनुदानको व्यवस्था छ ।

जग्गा खण्डीकरण र मूल्यवान भएपछि अहिले कौसी खेती तरकारी उत्पादनको माध्यम बन्न थालेको छ । भरतपुरका महिलाले यसरी सामूहिक रुपमा गरेको कौशी खेती साँच्चै लोभलाग्दो छ । यसले हरियाली र घरको सुन्दरतासमेत बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *