समाज

पर्यटक आकर्षित गर्न बुड्डी ताल सौन्दर्यकरणमा बुद्धभूमि नगरपालिका (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २६ गते १८:३०
पर्यटक आकर्षित गर्न बुड्डी ताल सौन्दर्यकरणमा बुद्धभूमि नगरपालिका (भिडियो रिपोर्टसहित)

२६ असार २०७८ कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको नवौं नगरसभाले चार वटा गौरवका योजना पारित गरेको छ । बहुवर्षीय गौरवका आयोजनामध्येको एक हो बुड्डी तालको सौन्दर्यकरण ।

यसको डिपिआरसमेत तयार भइसकेको छ । ठुलो लगानी लाग्ने यो आयोजनाबाट पर्यटक आकर्षित गर्ने नगरपालिकाको योजना छ ।

डिपिआर अनुसार कपिलवस्तुको बुड्डी ताल सौन्दर्यकरणका लागि १ अर्ब २२ करोड रुपैयाँ खर्च लाग्ने छ । ६५ बिघा क्षेत्रफलमा फैलिएको तालको पूर्वदक्षिण क्षेत्रमा व्यवसायिक माछापालन र होमस्टे सञ्चालन गरिनेछ।

त्यसैगरी मध्य भागमा आइल्याण्ड बन्नेछ । आइलेण्डमा घोगी आकारको थारु संग्रहालय, भ्यु टावर, वाटर फाउन्टेन, चिल्ड्रेन पार्क, बुद्धमूर्ति, गेस्ट हाउस, प्रशासनिक भवन, होमस्टे, रेष्टुरेन्ट, तालिम हल लगायतका संरचना बनाउने योजना छ । यी संरचना बनाउन संघीय सरकारको ३ करोड र बुद्धभूमि नगरपालिकाको १ करोड ५० लाखमा टेन्डर प्रक्रिया अघि बढेको छ ।

ताल संरक्षण र सम्बर्द्धनको कामलाई नगरपालिकाले मेगा प्रोजेक्ट भनेको छ । त्यसैले अहिले साढे ४ करोडमा काम थाल्ने र थप रकमका लागि संघीय सरकार र संघ संस्थासँग सहकार्य गर्ने उसको योजना छ ।

नगरकै मुहार फेरिने गरी ल्याइएको यो परियोजना संचालनले रोजगारी र आय बढनुका साथै कला र संस्कृतिको प्रचारमा टेवा पुग्ने स्थानीय बासिन्दाको पनि विश्वास छ ।

पूर्व पश्चिम राजमार्गको १ किलोमिटर दक्षिण र हुलाकी राजमार्गको १३ किलो मिटर उत्तरमा रहेको बुड्डी तालको डिपिआर अनुसार काम पुरा भए लुम्बिनी प्रदेशकै आकर्षक पर्यटकीय गन्तब्य बन्ने छ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि आन्तरिक र बाह्य पर्यटकलाई बुद्धभूमिसम्म आकर्षित गर्न सकिने स्थानीय सरकारको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *