विम्बल्डन टेनिसको उपाधिका लागि नोभाक जोकोभिच र माटेओ बेरेटिनीबीच प्रतिस्पर्धा हुने
२६ असार २०७८ काठमाडौं । पुरुष एकलतर्फ विम्बल्डन टेनिसको उपाधिका लागि नोभाक जोकोभिच र माटेओ बेरेटिनीबीच प्रतिस्पर्धा हुनेछ ।
साविक विजेता जोकोभिचले दशौं वरियताका क्यानाडाका डेनिस सापोभालोभलाई पराजित गर्दै उपाधि नजिक पुगेका छन् । शीर्ष वरियताका जोकोभिचले २२ वर्षका डेनिसलाई ७–६, ७–५ र ७–५ को सोझो सेटमा हराए ।
यससँगै पाँच पटकका विम्बल्डन च्याम्पियन सर्बियन खेलाडी जोकोभिच सातौं पटक फाइनलमा प्रवेश गरेका छन् । १९ पटक ग्राण्डस्लाम विजेता जोकोभिच विम्बल्डन जित्दै २० ग्राण्डस्लाम उचाल्ने लक्ष्यमा छन् ।
यसअघि सातौं वरीयताका माटेओ बेरेटिनीले पहिलो सेमिफाइनलमा पोल्याण्डका हुबर्ट हुकार्जलाई पराजित गरेका थिए । इटालीका बेरेटिनीले हुबर्टलाई ६–३, ६–०, ६–७ र ६–४ को सेटमा हराउन सफल भए ।
यससँगै २५ वर्षीय माटेओ विम्बल्डनको फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी समेत बनेका छन् । यस्तै माटेओ सन् १९ सय ७६ पछि ग्राण्डस्लामको फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी पनि बने ।
उता महिलातर्फको उपाधिका लागि आज शीर्ष वरियताकी अश्लेघ बार्टी र आठौं वरियताकी क्यारोलिना प्लिस्कोभा भिड्ने भएका छन् ।
प्रतिक्रिया