समाज

कालीगण्डकी डाइभर्सनको कार्य नरोकिए संघर्षमा उत्रिने चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २३ गते १९:०७
कालीगण्डकी डाइभर्सनको कार्य नरोकिए संघर्षमा उत्रिने चेतावनी (भिडियो रिपोर्टसहित)

२३ असार २०७८ तनहुँ । बुटवलमा कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय स्थापना भएपछि शुरु भएको विरोध बढ्दै गएको छ । तनहुँका स्थानीय तह, धर्मिक गुरु तथा अगुवाले विवादमा आएको कालीगण्डकी डाईभर्सनको कार्य नरोकिए सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन् ।

पाल्पा र स्याङजाको सीमा राम्दीमा थुनेर कालीगण्डकीको पानी तिनाउ नदीमा खसाल्ने योजना तत्काल रोक्नुपर्ने आवाज बिस्तारै चर्कँदै गएको छ । तनहुँको देवघाट गाउँपालिकाले पनि आयोजनाको विरोध गरेको छ ।

कोरोना संक्रमण, बाढीपहिरोको पीडाका कारण मात्रै सडकमा नउत्रेको भन्दै गाउँपालिकाले योजना फिर्ता नलिए कडा आान्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

एकातिर विकास भइरहँदा अर्को तिर विनाश हुन नहुने गाउँपालिकाको धारणा छ । दामोदर कुण्डबाट बहेको कालीगण्डकी दर्जनभन्दा बढी धार्मिक तीर्थस्थल, मन्दिर, घाट हुँदै देवघाटमा मिसिएको छ ।

तनहुँका तीन स्थानीय तह देवघाट, ऋषिङ र घिरिङलाई कालीगण्डकी नदीले छोएको छ । नेपालीको धार्मिक, साँस्कृतिक विरासत शालिगग्राम पाईने विश्वको एक मात्र नदी कालीगण्डकी डाइभर्सन गर्दा देवघाटधामको कुनै अस्तित्व नै नहुने धार्मिक अगुवाको टिप्पणी छ ।

गण्डकी र लुम्बिनी प्रदेशको साझा नदी काली गण्डकीलाई पाल्पा र स्याङ्जाको सीमा राम्दी भन्दा केही तलबाट पथान्तरण गरेर तिनाउमा लैजाने संघीय सरकारको योजना छ ।

नदी पथान्तरणले तल्लो क्षेत्र सुख्खा हुने भन्दै अस्तित्व बचाउन काली नदीको महिमा, सम्पदा जोगाउन र स्थानीय अधिकारलाई पहिलो प्राथमिकता दिनु पर्ने जिल्ला समन्वय समितिले जनाएको छ । डाइभर्सनको कार्य अघि बढाउनु संघीय सरकारको ठुलो कमजोरी भएको प्रदेश र स्थानीय सरकारको बुझाइ छ ।

कालीगण्डकी नदीको धार्मिक, सांस्कृतिक अस्तित्व मेटिन गई प्राकृतिक, जैविक तथा वातावरणीय क्षेत्रमा ठूलो असर पार्ने भन्दै गण्डकी प्रदेश सरकार र प्रदेशका स्थानीय सरकारले चासो देखाउँदै डाईभर्सन विरुद्ध लागेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *