आर्थिक

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मल मह‌गो : सरकारले छुट्याएको बजेट अपुग, अभाव हुन सक्ने(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २३ गते १६:४२
अन्तर्राष्ट्रिय बजारमा रासायनिक मल मह‌गो : सरकारले छुट्याएको बजेट अपुग, अभाव हुन सक्ने(भिडियो रिपोर्टसहित)

२३ असार २०७८ काठमाडौं । नेपाल कृषि प्रधान देश भए पनि खेतिपातीका लागि आवश्यक मलको समस्या किसानले हरेक वर्षा भोग्नु परिरहेको छ । यस वर्षको धान र मकैको सिजनलाई बंगलादेशबाट जीटुजीमार्फत मल ल्याइएकाले खासै समस्या भएन ।

जीटुजीमार्फत मल ल्याएर सरकारले थप मल ल्याउन तत्परता नदेखाउँदा अबको दुई महिनापछि फेरि मलको अभाव हुने देखिएको छ । यस्तै अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य ह्वात्तै बढेकाले सरकारले छुट्टाएको १२ अर्ब रुपैयाँ समेत अपुग हुने देखिएको छ ।

नेपालको लागि वार्षिक ८ लाख मेट्रिक टन भन्दा बढि मल आवश्यक पर्छ । तर अहिले सरकारले वर्षको ४ लाख मेट्रिक टन नै आयात गर्न सकिरहेको छैन । जसको कारण किसानलाई सरकारले चाहिएको समयमा मल उपलब्ध गराउन सकिरहेको छैन ।

यो वर्ष मकै र धान लगाउने बेलामा मलको खासै अभाव नभए पनि अब फेरि मल अभाव हुने भएको छ । कारण हो अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि । जसले गर्दा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको पाइप लाइनमा रहेको मल आउन ढिलाइ हुने छ ।

सरकारले मल किन्नका लागि चालु आर्थिक वर्षका लागि १२ अर्ब रुपैयाँ बजेट छुट्टाए पनि त्यो रकमले अहिलेको अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार दुई लाख २५ हजार मेट्रिक टन मात्र किन्न पुग्छ । मलको मूल्य दोब्बरले बढेकाले अहिले मलका लागि २४ अर्ब आवश्यक पर्ने कृषि सामग्री कम्पनीको आँकलन छ ।

अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढिरहेकाले बजेटमा छुट्टाएको रकमले मल ल्याउन पुग्दैन। पछिल्यो समय मल आयातको लागि गरिएको टेन्डर समेत रद्द भइरहेका छन् । त्यसैले धानका लागि मल पुगे पनि गहुँका लागि चाहिने मल ल्याउने प्रयासमा जुटिरहेको कृषि मन्त्रालयले जनाएको छ ।

सरकारले समयमै मल ल्याएर किसानलाई दिने योजना बनाए पनि विगतका केही वर्षयता किसानको आवश्यकता अनुसार मल पुर्‍याउन सकिरहेको छैन। यसपटक मूल्य समायोजन गरेर भए पनि मल उपलब्ध गराउने मन्त्रालयको दाबी छ ।

मलको हाहाकारको बेला बिचौलियाहरु सक्रिय हुँदा किसानले मलका लागि महँगो मूल्य तिर्न बाध्य हुने गरेका छन् । त्यसैले सरकारले समयमै मल ल्याउने तयारी नगर्ने हो भने गँहु लगाउने बेलामा किसानले यस वर्ष पनि मल हाल्ल पाउने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *