खेलकूद

सोनिया भट्टको ओलम्पिक यात्राले दिलाएको खुसी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २२ गते २०:५०
सोनिया भट्टको ओलम्पिक यात्राले दिलाएको खुसी (भिडियो रिपोर्टसहित)

२२ असार २०७८ बाँके । नेपालमा कुनै समय यस्तो पनि थियो, जुन बेला खेलकूदमा लाग्यो भने बिग्रिन्छ भन्ने सोचाई थियो । व्यवसायिकताको अभावमा खेलकुदलाई कुनै महत्व दिइँदैनथ्यो भने खेलाडीलाई हेर्ने नजर नै नकारात्मक थियो ।

त्यस्तो अवस्थामा छोरी मान्छेलाई त खेलकुदमा लाग्न असम्भव जस्तै थियो । तर, अहिले समय बदलिएको छ । आशन्न टोकियो ओलम्पिकमा सोनिया भट्ट नेपालका तर्फबाट सहभागी हुने पक्का भएपछि अहिले उनको परिवारमात्र होइन, नेपालगञ्ज नै गौरवान्वित छ ।

खेलकुदमा होमिएपछि सबै खेलाडीको साझा सपना हुन्छ, ओलम्पिक खेल्ने । नेपालजस्तो देशको छनोट चरण पार गरेर विश्व खेलकुदको महाकुम्भमा सहभागिता निकै कठीन छ । वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिक खेल्ने निश्चित भएपछि अहिले सोनिया र उनको परिवारमात्र होइन, पूरा बाँके जिल्ला नै गर्व गरिरहेको छ ।

जुडोको ४८ केजी तौल समूहमा स्थान पाउनुअघि सोनियाले निकै मेहनत गरेकी थिइन् । खजुराको ज्ञानोदय माविमा पढ्दा पढ्दै खेलकुदमा लागेकी १९ वर्षे सोनियाले काठमाडौंमा भएको १३औं सागमा कास्य पदक, बंगलादेशमा दुई वर्षअघि भएको जुडो च्याम्पियनसिपमा क्याडेटतर्फ स्वर्ण पदक जितिन् ।

त्यस्तै मोरक्कोमा भएको विश्व जुनियर जुडो च्याम्पियनसिपमा पनि राम्रो प्रदर्शन गरिन् । तिनै प्रदर्शनका आधारमा सोनिया टोकियो ओलम्पिकमा स्थान बनाउन सफल भइन् ।

टोकियोमा आफ्नो प्रदर्शन राम्रो बनाउनका लागि अहिले सोनिया कडा मेहनत गरिरहेकी छन् । ओलम्पिकजस्तो ठूलो मञ्चमा उत्कृष्ट प्रदर्शन गरेर देशको शीर उँचो बनाउने विश्वास सोनियाको छ ।

उता छोरीको सफलतासँगै आम्दानी समेत हुँदै आएपछि सोनियाको परिवार पनि खुसी छ ।

हुन त बाँकेबाट ओलम्पिकमा सहभागिता जनाउने सोनिया पहिलो खेलाडी होइनन् । यसअघि भारोत्तोलनका सुरेन्द्र हमाल र सुटिङका पार्वती थापा र अनिता श्रेष्ठले ओलम्पिक खेलिसकेका छन् । ३१ वर्षपछि बाँकेका खेलाडी ओलम्पिक एरेनामा उत्रिँदैछन ।

अहिलेसम्म बाँकेमा सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी प्रतिभा जन्मिसकेका छन् । अर्को एक जना खेलाडी थपिएकोमा ओलम्पियन सुरेन्द्र हमाल पनि हर्षित छन । अनुशासित भएर जुडोलाई निरन्तरता दिन सकेमा सोनिया धेरै अघि बढ्न सक्ने ओलम्पियन हमालको विश्वास छ ।

नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेलेका दुई खेलाडीमात्र छन्, दीपक विष्ट र संगीना बैद्य । यो पटकको ओलम्पिकमा सहभागिता जनाउने पाँच खेलाडीमध्ये सोनिया पनि समावेश हुनुले युवा पिँढीका लागि उदाहरण समेत हुन सक्छ ।

यो पटकको ओलम्पिकमा विश्वका २०६ देशका ११ हजार खेलाडीले बिभिन्न ३३ खेलमा भाग लिदैछन् । नेपालबाट पौडीका दुई म्याराथन, सुटिङ र जुडोबाट एक एक जना टोकियो जानेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्