समाज

महोत्तरीका डुम समुदाय : सरकारले बनाइदिएको छानाबिनाको यस्तो घरमा बस्न बाध्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २० गते १६:२७
महोत्तरीका डुम समुदाय : सरकारले बनाइदिएको छानाबिनाको यस्तो घरमा बस्न बाध्य (भिडियो रिपोर्टसहित)

२० असार २०७८ महोत्तरी । महोत्तरीका डुम समुदायलाई सरकारले बनाइदिएको घरको छाना खुल्लै छ । जसले गर्दा डुम समुदाय अहिले पनि खुल्ला छानोमुनि बस्न बाध्य छन् ।

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ५ हररी गाउँमा १७ घर डुम समुदायको वसोवास छ । जसमध्ये १० परिवारले जनता आवास कार्यक्रम अन्तर्गत दुई कोठे घर पाएका छन् । तर पाएको घरमा छानो छैन ।

पोहोरदेखि घर बनाउन थाले पनि निर्माणकर्ताले छानो नहाल्दिएपछि उनीहरु प्लास्टिक ओढाएर यही घरमा बसेका छन् । सानो पानी पर्दा पनि बालबच्चा भिज्छन् ।

बर्खाको पानीले घरभित्रै निथ्रुक्कै भिज्ने अवस्था त छँदैछ । घरमा भएको अन्न र लुगाफाटो समेत भिजेपछि उनीहरु समस्यामा छन् । छानोविहीन घरमा टाउको लुकाउन नपाइरहेका बेला शरीर डाक्ने लुगा पनि ओभानो नरहेको भन्दै उनीहरु थप चिन्तित छन् ।

जनता आवासमार्फत अन्यन्त्र बनेका घरहरुको पनि गुणस्तरमा प्रश्न उठेका छन् । महोत्तरीमा बनेका घरमा पनि यो प्रश्न उठेकै छन् । निर्माणकर्ताले काममा ढिलो गरेर बर्खामा लाभग्राहीलाई बिचल्लीमा पारेका छन् । घरको गाह्रोसमेत गतिलो नभएको लाभग्राहीको गुनासो छ ।

निर्माण समितिको अध्यक्ष उपेन्द्र मल्लिकका अनुसार एउटा घर बनाउन तीन लाख ३६ हजार लागत अनुमान गरिएको छ । तर अहिलेसम्म १० वटा घरका लागि जम्मा ९ लाख रुपैयाँ मात्र निकासा आएको छ ।

बाँकी पैसा नआएकै कारण घरको निर्माण पूरा हुन नसकेको निर्माण समितिको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *