आर्थिक

मौद्रिक नीतिमा आर्थिक क्षेत्रको पुनरुत्थानलाई प्राथमिकतामा राख्न चेम्बरको सुझाव

हिमालय टिभी
२०७८ असार १९ गते १८:२१
मौद्रिक नीतिमा आर्थिक क्षेत्रको पुनरुत्थानलाई प्राथमिकतामा राख्न चेम्बरको सुझाव

१९ असार २०७८ काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी वर्षको मौद्रिक नीतिमा कोभिड १९ महामारीको चपेटामा परेको निजी क्षेत्रको आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्न राष्ट्र बैँकसँग आग्रह गरेको छ ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आगामी मौद्रिक नीतिका लागि ३७ बुँदे सुझाव दिनुभएको हो । नराम्रोसँग प्रभावित भएको अर्थतन्त्रको पुनरुत्थानमा मौद्रिक नीति केन्द्रित हुनुपर्ने चेम्बरको माग छ ।

चेम्बरले सबै प्रकारका लघु, साना, मझौला, ठूला उद्योग एवम् व्यवसाय, निर्यात व्यवसाय, महिला उद्यमशीलता तथा कृषि क्षेत्रका लागि ३ प्रतिशत ब्याजदरमा पुनर्कर्जाको व्यवस्था गर्न माग गरेको छ ।

मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनका लागि समयमै निर्देशिका, नियमावली र पुनर्कर्जा वितरण कार्यविधि सरल र सहज बनाउनुपर्नेतर्फ पनि चेम्बरले राष्ट्रबैकको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष मल्लले कोभिडले भविष्यमा पार्न सक्ने प्रभावको पूर्व अनुमान गरेर बैंक ब्याजमा ५० प्रतिशत सरकारले अनुदान दिने गरि व्यवस्था मिलाउन सुझाव दिएको बताउनुभयो ।

चालु उद्योग व्यवसायीका ऋणीलाई थप धितो नराखी ऋणको २५ प्रतिशत थप उपलब्ध गराउनुपर्ने, २०७८चैत्र मसान्त सम्मको ब्याज विना जरिवाना बुझाउन सक्ने व्यवस्था मिलाउनुपर्ने, २०७९ सम्म कुनै पनि ऋणीको धितो लिलाम गर्न नपाइने व्यवस्था गर्न पनि चेम्बरले माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *