खेलकूद

इटाली र स्पेन युरोकप फूटबलको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७८ असार १९ गते ८:२२
इटाली र स्पेन युरोकप फूटबलको सेमिफाइनल प्रवेश

१९ असार २०७८ काठमाडौं । इटाली र स्पेन युरोकप फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति सम्पन्न दोस्रो क्वार्टरफाइनलमा विश्व वरियताको शीर्ष टोली बेल्जियमलाई २–१ ले हराउँदै इटालीले सेमिफाइनलमा स्थान पक्का पारेको हो ।

जर्मनीको एलिनाज स्टेडियममा इटालीको जितमा निकोलो बरेला र लोरेञ्जो इन्सिग्ने एकएक गोल गरे । बेल्जियमका तर्फबाट रोमेलु लुकाकुले सान्त्वना गोल फर्काए । ३१ औं मिनेटमा बरेलाले इटालीलाई अग्रता दिलाए ।

त्यसअघि ४४ औं मिनेटमा लोरेञ्जोले गोल थपेपछि इटालीले २–० को अग्रता लियो । पहिलो हाफको इञ्जुरी समयमा बेल्जियमका लुकाकुले पेनाल्टीमा गोल गरेका थिए । जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टोलीको कीर्तिमान बनाएको छ ।

इटालीले अघिल्लो खेलमा ८२ वर्ष अघिको आफ्नै कीर्तिमान भंग गरेको थियो । उसले सन् १९ सय ३५ को अक्टोबरदेखि जुलाई १९ सय ३९ सम्म ३० खेलमा अपराजित रहँदै इटालीले कीर्तिमान बनाएको थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३५ खेलमा अपराजित रहने कीर्तिमान ब्राजिल र स्पेनको नाममा छ । अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि पेनाल्टी सुटआउटमा स्वीट्जरल्याण्डलाई ३–१ ले हराउँदै स्पेन अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको थियो । निर्धारित तथा त्यसपछि थपिएको अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा आठौं मिनेटमा स्पेनले आत्मघाती गोलसँगै अग्रता लिएको थियो ।

स्वीट्जरल्याण्डका डेनिस जाकारियाले आत्मघाती गोल गरेका थिए । त्यसपछि ६८औं मिनेटमा स्वीट्जरल्याण्डका कप्तान जद्रान शाकिरीले गोल गर्दै खेल १(१ गोलको बराबरीमा ल्याएका थिए । ७७औं मिनेटमा फ्रिउलरले रेड कार्ड पाएपछि स्वीट्जरल्याण्ड दश खेलाडीमा समेटिएको थियो ।

युरोकपमा आज राति क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क तथा दोस्रो खेलमा युक्रेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति पौने दश बजे हुनेछ । यस्तै इंग्ल्याण्ड र युक्रेनले बीचको इटालीको स्टाडियो ओलम्पिकोमाराति पौने एक बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्