समाज

बस्ती बचाउन भन्दै कांग्रेस कार्यकर्ता तटबन्ध बनाउन अग्रसर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १६ गते २०:१५
बस्ती बचाउन भन्दै कांग्रेस कार्यकर्ता तटबन्ध बनाउन अग्रसर (भिडियो रिपोर्टसहित)

१६ असार २०७८ बुटवल । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र उसको भातृ संगठन नेपाल दरुण दलका नेता तथा कार्यकर्ता तिनाउ नदीमा तटबन्धन बनाउन जुटेका छन् । नदीबाट उच्च जोखिममा रहेका बस्ती बचाउन भन्दै कांग्रेस कार्यकर्ता तटबन्धन बनाउन अग्रसर भएका हुन् ।

बुटवल हुँदै बग्ने तिनाउ नदीको किनारामा कसैले जाली बुन्दै छन् कोही ढुङ्गा ओसार्दै । ३ वटा डोजरले जालीमा ढुङ्गा भरिरहेको छ । तिनाउमा अहिले तटबन्धनको काम चलिरहेको छ ।

तपाईंलाई झट्ट हेर्दा सरकारी निकायबाट तटबन्धनको काम भइरहेको जस्तो लागेको होला । तर होइन । वर्षायाममा उर्लिएर आउँदा तिनाउ र दानव नदीका तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा पर्ने भन्दै नेपाली कांग्रेस बुटवलले श्रमदान जुटाएर तटबन्धन लगाउन शुरु गरेको हो ।

स्थानीय सरकारले तिनाउबाट वर्षेनी करोडौंको नदीजन्य पदार्थ निकाल्ने गरेको छ । यसले गर्दा तिनाउ गहिरो हुँदै गएको छ भने पानी बग्ने धार परिवर्तन हुँदा किनाराका बस्ती जोखिममा परेका छन् । जोखिम क्षेत्रमा तटबन्धको आवश्यकता परे पनि सरकारले ध्यान पुर्याउन नसक्दा आफुहरु नै अघि सरेको कांग्रेसको भनाइ छ ।

अहिले बुटवलको पुलचोक, ज्ञानोदय विद्यालय पछाडी, जितगडी, पवित्रानगर, मजुवा, सिर्जना नगर लगायतका क्षेत्रका घर बाढीको उच्च जोखिम छ । बस्ती बचाउन माग राख्दै स्थानीयले पटक पटक स्थानीय सरकारको ध्यानाकर्षण गराए । तर उनीहरुले आवश्वासनबाहेक केही पाएनन् । अहिले दलकै अगुवाइमा भए पनि काम शुरु भएपछि स्थानीय बासिन्दा खुशी छन् ।

तर सत्तामा पुगेपछि जनताको समस्या बिर्सने नेपालका राजनीतिक दलको पुरानै समस्या हो । सत्ता बाहिर रहेको नेपाली कांग्रेस श्रमदान जुटाएर विकास निर्माणको काममा लाग्नु प्रसंशनीय छ । यसले स्थानीय सरकारलाई पनि दबाब थपेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *