समाज

दुर्लभ लघु महाचीलका लागि किन बनाइँदैछ गुँड ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १५ गते १७:२३
दुर्लभ लघु महाचीलका लागि किन बनाइँदैछ गुँड ? (भिडियो रिपोर्टसहित)

१५ असार २०७८ कपिलवस्तु । विश्वमै दुर्लभ लघु महाचीललाई बचेरा हुर्काउन सजिलो होस् भनेर ठाउँ ठाउँमा कृत्रिम गुँड बनाइएको छ । ५० प्रतिशतभन्दा कम बचेरा हुर्किने हुँदा लघु महाचीलको संख्या घटदै गएको छ ।

मानिसले रुखमा बनाइदिएका गुँडले लघु महाचीलको प्रजनन् अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।

चरा संरक्षणकर्मीहरु यसरी रुखमा गुँड बनाउँदै छन् । उनीहरुले विश्वमै दुर्लभ लघु महाचीलका लागि गुँड बनाइ दिएका हुन् ।

लघु महाचील भेटिएका बुद्ध जन्मस्थल लुम्बिनी, कोशी टप्पु वन्यजन्तु आरक्ष र धनुषा यस्तो गुँड बनाइदिएका छन् । उनीहरुले लघु महाचीलले बनाएका गुँडको अध्ययन गरेर त्यस्तै प्रकारको गुँड बनाइदिएका छन् ।

लघु महाचील तराईको रैथाने चरा हो । नेपालभर बढीमा ७० वटा लघु महाचील भएको अनुमान छ । जसमध्ये १६–१७ वटा लुम्बिनीमा छन् । ६ जातका महाचील मध्ये लघु महाचीलले मात्र तराईमा बच्चा कोरल्छ ।

यसले तराईका अग्ला रुखका टुप्पामा साना हाँगामा गुँड बनाउने गरेको छ । तर ती गुँड जुनसुकै बेलामा पनि हावाले उडाउने र अन्डा तथा बचेरा नष्ट हुने गरेका छन् । जसले गर्दा लघु महाचीलका ५० प्रतिशत बचेरा पनि हुर्किन सकेका छैनन् ।

मानिसले बनाइदिएका कृतिम गुँड बलिया छन् । हुरी बतासले उडाउँदैन । त्यसैले यी कृतिम गुँडबाट लघु महाचीलको प्रजनन् क्षमता बढ्ने अपेक्षा छ ।

लघु महाचिलले वैशाख जेठदेखि साउन अन्तिमसम्ममा बच्चा कोरल्ने गरेका छन् । संरक्षणकर्मीले बनाइ दिएका यस्ता गुँडमा लघु महाचिलले हेर्ने र बस्ने गरेका छन् । र अब उनीहरु यी गुँडमा लघु महाचिल ओथारो बसोस् भन्ने आशामा छन् । लघु महाचीलले मुसा र बालीनालीलाई हानी गर्ने चरा मारेर खाने भएकाले यसलाई किसानको साथी मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *