खेलकूद

स्वीट्जरल्याण्ड र स्पेन युरोकप फूटबलको क्वार्टरफाइनलमा प्रवेश

हिमालय टिभी
२०७८ असार १५ गते ८:२९
स्वीट्जरल्याण्ड र स्पेन युरोकप फूटबलको क्वार्टरफाइनलमा प्रवेश

१५ असार २०७८ काठमाडौं । स्वीट्जरल्याण्ड र स्पेन युरोकप फूटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पेनाल्टी सुटआउटमा साविक उपविजेता फ्रान्सलाई हराउँदै स्वीट्जरल्याण्डले अन्तिम आठमा स्थान पक्का पारेको हो । रोमानियाको नेसनल एरिनामा निर्धारित समय तथा अतिरिक्त समयको खेल ३–३ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टीमा स्वीट्जरल्याण्डले विश्व विजेता फ्रान्सलाई ५–४ गोलले स्तब्ध बनायो । पेनाल्टी प्रहारमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिरोउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । तर, केलियन एमबाप्पेको प्रहार स्वीट्जरल्याण्डका किपर यान सोमेरले रोक्न सफल भए ।

त्यस्तै स्वीट्जरल्याण्डका मारियो गाभ्रानोभिच, फाबियन, अकाञ्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले गोल गरेका थिए ।

यसअघि स्वीट्जरल्याण्डले १५ औं मिनेटमा हरिस सेफेरोभिचको गोलबाट अग्रता लिएको थियो । तर ५७ औं र ५९ औं मिनेटमा करिम बेञ्जिमा तथा ७५ औं मिनेटमा पाउल पोग्बाले गोल गरेपछि फ्रान्सले ३–१ को अग्रता बनायो । तर स्वीट्जरल्याण्डका लागि ८१ औं मिनेटमा सेफेरोभिचले व्यक्तिगत दोस्रो गोल थपे ।

त्यस्तै ९० औं मिनेटमा स्वीट्जरल्याण्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल ३–३ ‍को बराबरीमा सकियो । त्यसपछि अतिरिक्त समयमा थप कुनै गोल हुन सकेन । स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा पुग्ने छैटौं टोली हो ।

त्यस्तै स्वीट्जरल्याण्ड ६७ वर्षपछि पहिलो पटक कुनै ठूलो प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो । यसअघि स्वीट्जरल्याण्ड सन् १९ सय ५४ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो । अब क्वार्टरफाइनलमा स्वीट्जरल्याण्ड र स्पेनबीच खेल हुनेछ ।

यसअघि सम्पन्न खेलमा क्रोएसियालाई अतिरिक्त समयमा ५(३ ले हराउँदै स्पेन अन्तिम आठमा पुगेको थियो । डेनमार्कको पार्केन एरिनामा निर्धारित समयको खेल ३–३ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा स्पेनले दुई गोल थप्न सफल रह्यो ।

प्रतियोगिता अन्तर्गत आज अन्तिम १६ का अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेलमा इंग्ल्याण्ड र जर्मनीले खेल्दैछन् ।

लण्डनस्थित वेम्बली स्टेडियममा हुने खेल राति पौने दश बजे शुरु हुनेछ । यस्तै स्कटल्याण्डको ह्याम्पडेन पार्कमा स्विडेन र युक्रेन राति पौने एक बजे भिड्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्