राजनीति

प्रधानमन्त्री ओलीले भने–माधव नेपाल शेरबहादुरको कार्यकर्ता, प्रचण्डको पुच्छर, कांग्रेस प्रचण्डपथमा हिँड्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १४ गते १५:१८
प्रधानमन्त्री ओलीले भने–माधव नेपाल शेरबहादुरको कार्यकर्ता, प्रचण्डको पुच्छर, कांग्रेस प्रचण्डपथमा हिँड्यो (भिडियो रिपोर्टसहित)

१४ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको टिप्पणी गर्नुभएको छ ।

स्वर्गीय जननेता मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौमा आयोजत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको बताउनुभएको हो । उहाँले कांग्रेसका नेताहरु नाथुराम गोड्से खोजी गर्ने र फेला नपरे नाथुराम गोड्से आफै हुने तहमा पुगेको दाबी गर्नुभयो । कांग्रेस प्रचण्डपथमा हिँडेपछि प्रचण्डपथको छाँया न्यायालयमा पनि परेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो ।

उहाँले भन्नुभयो “नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेपछि, नेपाली कांग्रेसका नेताहरु नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने नाथुराम गोड्से आफै हुने तहमा पुगेको भनेको प्रचण्डपथ नै अँगालेको हो । उसैत अराजनीतिक अस्थिरताको खेती । देश कता जान्छ भन्ने मतलब छैन । त्यो कुरामा पुग्नु भनेको स्वभाविक रुपमा प्रचण्डपथ नै अँगालेको हो । प्रचण्डपथ यति व्याप्त भइसक्यो । नेपाली कांग्रेसले अँगालेपछि त्यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त कांग्रेसले बनाएपछि अहिले प्रचण्डपथ सुप्रिप कोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो काटिदा रहेछन् । अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एकजना कार्यकर्ताले त सर्वोच्च अदालतमा नै भने । नेपाली कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से मै बन्छु भने । ”

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतभित्रै हिंसालाई दुरुत्साहन गर्ने काम भइरहँदा पनि मौन बसेको भनी सर्वोच्च अदालतका न्यायाधीशको भूमिकाप्रति असन्तुष्ठी जनाउनुभयो ।

उहाँले भन्नुभयो “आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नुहुन्न अथवा विद्धान अभिवक्ता ज्यूहरु तपाईहरुले आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमूर्तिहरुले सुझाव पनि राख्न सक्नुुहुदैन ? ”

माधव कुमार नेपाल शेरबहादुरको कार्यकर्ता, प्रचण्डको पुच्छर
प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकर्ता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुच्छर भएको टिप्पणी गर्नुभयो । नेता नेपालले आफुले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी जनता माझ झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे । माधव नेपालले आफै भन्दै हिँडेका छन् मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे तर म मान्दिनँ । म शेरबहादुर देउवाप्रति यति समर्पित छु । म देशलाई, पार्टीलाई, जनतालाई धोका दिन्छु । पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । उनी शेरबहादुर देउवाको पार्टी नै ज्वइन गर्न पनि सक्छन् । कार्यकर्ता भएर हिँडेका छन् । प्रचण्डको पार्टी त उनलाई ज्वइन गर्नुनै छ । त्यो त उनको गन्तव्य नै हो । मैले धेरै अगाडि भनेको थिएँ । माधव नेपाल भनेको प्रचण्डको एउटा मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् । मलाई बहुलाहा कुकुरले टोकेको छ र ? केही काम नपाएर, केही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?”

कहिले अध्यक्ष त कहिले प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनी आफै आफ्नो महत्व बढाएर नेता नेपालले झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । नेता नेपालले कम्युनिष्ट विचारधारा, सिद्धान्त र निष्ठा छोडेर नेकपाका अध्यक्ष दाहालको पुच्छर भएको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो ।

उहाँले भन्नुभयो “यिनी एकढंगले भन्ने हो भने प्रचण्डको पुच्छर हुन् । जन्तु पूर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ , पश्चिमतिर फर्कियो भने त्यो (पुच्छर) पूर्वतिर हुन्छ । फर्किन्छ । पछाडि पछाडि संगै हुन्छ क्या त्यो । उनी यता जाउँ भनेपछि पछि त्यतै लाग्छ । कांग्रेसतिर जाउँ भनेपछि त्यतै पछिपछि लाग्छ । ”

उहाँले पछिल्लो समय नेपाली राजनीतिमा नेता नेपालको चर्चा नाथुराम गोड्सेको रुपमा हुने गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “माधव नेपाल भन्ने एकजना कांग्रेसका पछाडि कुद्ने मान्छे छन् । अहिले नेपालको राजनीतिमा सबैजसोले नै चिन्छन् प्रायः । किनभने असाध्यै चर्चा भइरहेको छ कि यतिसम्म पनि मान्छे पतन हुन सक्दोरहेछ । आफ्नो पार्टीको सरकार ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउने । कम्युनिष्ठ आन्दोलन सिध्याउने अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर हिड्ने । यस्तो लाजशरम पचेको मान्छेको चर्चा सकारात्मक हिसावले मात्रै होइन नकारात्मक हिसाबले हुन्छ नि । गान्धीको मात्रै चर्चा हुँदैन नाथुराम गोड्सेको पनि चर्चा हुन्छ ।”

प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई विचार बोक्न भई स्वार्थ बोक्न लगाउने गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “राजनीतिक कार्यकर्ताहरुलाई कार्यकर्ताबाट जनमा परिणत गरिदिने । कार्यकर्ताहरुलाई विचार बोक्न लगाउने होइन स्वार्थ बोक्न लगाउने । स्वार्थको वितरण गर्ने । विचारको सम्प्रेषण होइन । स्वार्थको वितरण र झुट र वेइमानीको सहारा लिने । केही मान्छेहरु अहिले हामीले देखिराखेका छौ । विचार हरायो । उद्देश्य हराए । देशलाई कहाँ पुराउने हो त्यो कुरो बिर्सिए । समृद्ध नेपाल सुखी नेपाली उहाँहरु उच्चारण पनि गर्नुहुन्न । जनताको ध्यान त्यतातिर जान्छ, कार्यकर्ताको ध्यान त्यता जान्छ । त्यसपछि व्यक्तिगत स्वार्थ, अंहकारहरु, महत्वकाक्षाहरु र कुण्ठाहरुको व्यापार चल्दैन । ”

प्रचण्ड छेपारो जस्तो÷“निलवर्ण संघार” कथाको पात्र
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तको राजनीति भन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गर्नुभयो । उहाँले लोकतान्त्रिक शासन प्रणाली विरुद्ध नै सशस्त्र युद्ध गरेर ठूलो मानवीय क्षति पुराएका दाहालले कहिले गणतन्त्र आफुले ल्याएको त कहिले गणतन्त्रभन्दा राजानै राम्रो भन्दै हिँडेको बताउनुभयो । अध्यक्ष दाहालले छेपारोले जस्तो गरी स्वार्थ र परिवेश अनुशार धारणा बदल्दै हिँडेको टिप्पणी प्रधानमन्त्री ओलीले गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रचण्डले अस्ति राष्ट्रपतिभन्दा त राजै राम्रो के के भने क्यार .. मान्छेले छक्क माने । किन छक्क मान्ने छेपारोले रंग एकएक छिनमा फेर्छ त । खैरो मुढामा गयो भने खैरो खैरो खालको रंग बनाउँछ । अर्को हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालो बोक्रो भएको ठाउम पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त । कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ कहिले –यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकीहरु के हेरेर बसेका छन् ? किन हस्तक्षेप गर्देनन् भन्छ । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ । कहिले गणतन्त्र भन्दा त राजतन्त्रै राम्रो भन्न पुग्छ । कहिले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गर्छ । ”

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल “निलवर्ण संघार” कथाको पात्र जस्तो चरित्रको भएको दाबी गर्नुभयो । प्रचण्डको काम नै देशलाई बरबाद गर्ने भएको भन्दै उहाँले प्रचण्डलाई पनि पृथकतावादीहरुलाई राजनीतिको मूल धारमा ल्याएजस्तै लोकतान्त्रिक मार्गलाई ल्याउन जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाको स्वार्थनीति
प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाको भूमिकामाथि पनि तिखो टिप्पणी गर्नुभयो । राष्ट्रिय जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभई स्वार्थ नीतिलाई केन्द्र भागमा राखेर काम गरेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । उहाँले आफ्ना एकजना प्रतिनिधिलाई जसरी भएपनि मन्त्री बनाउने प्रयासमा कांग्रेसलाई समर्थन गरेको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय राजनीतिक दल र तीनका नेताले स्वार्थ केन्द्रीत राजनीति गरेका कारण राजनीतिक सिद्धान्त, बर्गिय राजनीतिक, गन्तव्य र उद्देश्यका सवालहरु ओझेल पर्दै गएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले बौद्धिक जगतलाई क्षणिक आवेश र उत्तेजनामा नआउन आग्रह गर्नुभयो । बुद्धिजीवीहरुलाई देश र जनताप्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्ति दिन पनि उहाँले सुझाउनुभयो ।

भण्डारीको योगदानको चर्चा
विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने संगठित प्रयास स्वर्गीय मदन भण्डारीले गरेको भन्दै प्रधानमन्त्री ओलीले भण्डारीको राजनीतिक सोच , विचार, व्यवहार तथा समग्र योगदानको चर्चा गर्नुभयो । जननेता भण्डारी सताब्दी नायक रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा नेता भण्डारीले पारेको प्रभावको पनि प्रधानमन्त्री ओलीले चर्चा गर्नुभयो । उहाँले मदन भण्डारीको स्कुलिङ अहिलेको जस्तो झुट र बेइमानीको नभई सत्य र निष्ठाको रहेको बताउनुभयो । उहाँले राजनीतिक दल, नेता तथा कार्यकर्ताले देश र जनताको हित हुने गरि सत्य र निष्ठाको राजनीतिक मार्ग अपनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्