काठमाडौं नजिकैको सुगम गाउँपालिका गजुरीका बासिन्दा अझै पनि टुकीको भर (भिडियो रिपोर्टसहित)
१३ असार २०७८ धादिङ । धादिङको गजुरी गाउँपालिकाका कतिपय वडामा अझै विद्युतीकरण भएको छैन । बिजुलीका पोल गाडेको लामो समय हुँदा पनि काम अघि बढ्न नसक्दा गजुरी गाउँपालिकाका साढे ८ सय घरधुरी अझै पनि टुकीको भरमा छ ।
बत्तीमुनि अँध्यारो, यो उखान धादिङको गजुरी गाउँपालिका साविकका वडा नम्बर ३, ४ र ५ वडामा लागू भएको छ । संघीय राजधानी काठमाडौंबाट नजिकै रहेको र सुगम गाउँपालिका भनेर कहलिएको गजुरीका बासिन्दा अझै पनि टुकीको भरमा छन । गाडिएका बिजुलीका पोलहरु ढल्न थालेका छन् ।
पाँच वर्ष अघि जडान गरिएका ट्रान्समिटर बिग्रने अवस्थामा पुगिसकेका छन् । गत दशैंमै गाउँ बिजुली बत्तीले झिलिमिलि हुने आशमा बसेका स्थानीयबासिन्दा अहिले निराश छन् ।
बिजुली अभावमा मोवाइल चार्ज गर्न समस्या छ भने बालबालिकाको पठनपाठनका लागि पनि समस्या भएको छ । यो गाउँभन्दा वारीपारीका गाउँमा बिजुली झलमल बल्दा यहाँका बासिन्दाको मन कुँडिन्छ, भत्तभती पोल्छ ।
कतिपयले बिजुलीको विकल्पमा सोलार जडान गरेका छन । तर बर्खाको बेला सोलारले काम नगरे पछि टुकीकै भर पर्नु परेको छ ।
गजुरी गाउँपालिकाका ८ सय ५० घरधुरीमा अझै पनि बिजुली पुग्न सकेको छैन् । काम अलपत्र छ । विद्युतीकरणका लागि गाउँपालिकाले बजेट पनि विनियोजन गर्यो । धेरै खर्च लाग्ने ठाउँमा संघीय सरकारको भर पर्यो ।
जनप्रतिनिधिहरुले गाउँपालिकामा ४० बाट बढाएर ७० प्रतिशतमा विधुतीकरण गरेको बताएका छन । अब बाँकी काम पनि छिट्टै पूरा हुने गाउँपालिकाको दाबी छ ।
संघीय राजधानी छेउको जिल्लाका बासिन्दा बिजुली बाल्न नपाउनुले सरकारको उज्यालो नेपाल अभियानलाई नै गिज्याइरहेको महशुस हुन्छ ।
प्रतिक्रिया