खेलकूद

इटाली र डेनमार्क युरोकप फूटबलको क्वाटरफाइनल प्रवेश

हिमालय टिभी
२०७८ असार १३ गते ७:५९
इटाली र डेनमार्क युरोकप फूटबलको क्वाटरफाइनल प्रवेश

१३ असार २०७८ काठमाडौं । इटाली र डेनमार्क युरोकप फूटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति सम्पन्न नकआउट चरणको दोस्रो खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इटालीले अन्तिम आठमा स्थान पक्का पारेको हो । इंग्ल्याण्डको वेम्बली स्टेडियममा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

अतिरिक्त समय अन्तर्गत ९५औं मिनेटमा फेडरिको चिसाले इटालीलाई अग्रता दिलाए । लगत्तै १०५ औं मिनेटमा माटियो पेसिनाले इटालीको अग्रता दोब्बर पारे ।

त्यस्तै अष्ट्रियाका सासा कलाडिज्कले ११४ औं मिनेटमा एक गोल फर्काए । जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टोलीको कीर्तिमान बनाएको छ । इटालीले ८२ वर्ष अघिको आफ्नै कीर्तिमान भंग गरेको हो ।

सन् १९ सय ३५ को अक्टोबरदेखि जुलाई १९ सय ३९ सम्म ३० खेलमा अपराजित रहँदै इटालीले कीर्तिमान बनाएको थियो । सन् २ हजार १८ सेप्टेम्बरमा यूइएफए नेसन्स लीगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएयता इटाली पराजित भएको छैन ।

यस्तै यसअघि सकिएको खेलमा वेल्समाथि ४० को शानदार जितसहित डेनमार्क पहिलो टोलीका रुपमा क्वाटरफाइनलमा पुगेको थियो ।

नेदरल्याण्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कको जितमा कास्पर डोलबर्गले दुई तथा जाओकिम मेहेल र ब्रेथह्वाइटले एक(एक गोल गरे । ५९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको डेनमार्कले वेल्समाथि लगातार दबाव बनाएको थियो । ९० औं मिनेटमा ह्यारी विल्सनले रेड कार्ड पाएपछि वेल्स १० खेलाडीमा सिमित भएको थियो ।

नकआउट चरणमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा नेदरल्याण्ड्स र चेक रिपब्लिकले प्रतिस्पर्धा गर्नेछन् । हंगेरीको पुस्कास एरिनामा हुने खेल राति पौने दश बजे शुरु हुनेछ । यस्तै बेल्जियम र साविक विजेता पोर्चुगलले राति पौने एक बजे स्पेनको सेभियामा भिड्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्