समाज

जिल्ला अस्पताल पाँचथरमा चिकित्सक तथा प्रविधिको चरम अभाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १२ गते १८:४७
जिल्ला अस्पताल पाँचथरमा चिकित्सक तथा प्रविधिको चरम अभाव (भिडियो रिपोर्टसहित)

१२ असार २०७८ पाँचथर । पाँचथरको जिल्ला अस्पतालमा पर्याप्त चिकित्सक तथा प्रविधिको अभाव छ । १५ बेडको यो अस्पतालमा पाँचथर, ताप्लेजुङ र तेह्थुमका बासिन्दा उपचारका लागि पुग्ने गरेका छन् । तर पर्याप्त जनशक्ति र साधनस्रोत नहुँदा बिरामीलाई उपचारका लागि तराई झर्नुपर्ने बाध्यता छ ।

प्रदेश एक सरकारले बजेट भाषणको क्रममा पाँचथर अस्पताललाई १ सय शैयाको अस्पताल बनाउने घोषणा गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रस्तुत गरेको बजेटमा अस्पताल स्तरोन्नतीको विषय उल्लेख हुँदा खुसीको सञ्चार भए पनि पाँचथरका बासिन्दाले विश्वास गरिहालेका छैनन् ।

विगतका योजनाहरु सम्झेर विश्वास नभएको हो । हुन त १५ शैयाको पाँचथर अस्पताललाई ५० शैयाको बनाउने भनेर भवन निर्माणको काम भइरहेको छ । तर ५० बेडको अस्पताल सञ्चालनका लागि संगठन र व्यवस्थापन सर्भे समेत भएको छैन् । यो काम तत्काल हुन नसके समस्या आउन सक्छ भनेर सेवाग्राही चिन्तित छन ।

२०७४ सालमा भ्याट बाहेक २१ करोड ७४ लाखमा भवनको ठेक्का लागेको थियो । भवन निर्माणको काममा पनि ढिलाइ भएको छ । निर्धारित म्याद सकिएर थपिएको ११ महिनाको समयमा पनि काम सकिएको छैन् । वैशाखामा ६ महिनाका लागि फेरि म्याद थपिएको छ । अबचाहिं निर्धारीत समयमा भवन निर्माणको काम सक्ने निर्माण व्यवसायीको दाबी छ ।

कोरोना भाइरसको दोश्रो लहर शुरु भए लगत्तै दश बेडको आइसीयू सेवा सञ्चालन गर्ने निर्णय गरियो । निर्माणाधिन भवनमा रहेको क्यान्टिमा १० बेडको आईसीयु सेवा सञ्चालन हुने सार्वजनिक भयो ।

कोरोना कहरको बेला उपचार पाउने आशामा नागरिक खुशी भए । जेठको दोश्रो हप्तानै सञ्चालन गर्ने भनिएको आइसीयु बेड अझै सञ्चालनमा आएको छैन् । ४ वटा भेन्टिलेटर र ६ वटा आईसीयुका सामग्री थन्किएर बसेका छन् । जनशक्ति अभावले आइसीयू र भेन्टिलेटर सञ्चालन हुन सकेको छैन ।

सुविधा सम्पन्न भवन बनेर विशेषज्ञ डाक्टरसहितको सुविधा सम्पन्न अस्पतालको अपेक्षा नागरिकको छ । झापामा रहेका सुविधा सम्पन्न अस्पताल पुर्‍याउन ५ घण्टा समय लाग्छ । गाउँबाट सदरमुकाम आइपुग्दा बिरामीको अवस्था जटिल भइसकेको हुन्छ ।

कतिपय बिरामीको राम्रो अस्पताल नपुग्दै मृत्यु पनि हुने अवस्था छ । सरकारले घोषणा गर्ने मात्र हैन अस्पताललाई सुविधा सम्पन्न बनाउन काम पनि गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *