खेलकूद

फ्रान्स, जर्मनी र पोर्चुगल युरोकप फूटबलको अन्तिम १६ मा

हिमालय टिभी
२०७८ असार १० गते ८:२५
फ्रान्स, जर्मनी र पोर्चुगल युरोकप फूटबलको अन्तिम १६ मा

१० असार २०७८ हंगेरी । समूह एफ बाट फ्रान्स, जर्मनी र पोर्चुगलले युरोकप फूटबलको अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । हंगेरीमा भएको खेलमा पोर्चुगलले ३० औं मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै अग्रता लिएको थियो ।

यस्तै इञ्जुरी समयमा फ्रान्सका करिम बेञ्जिमाले पेनाल्टीबाटै गोल गरेपछि खेल १(१ को बराबरी भएको थियो । त्यसपछि पाउल पोग्बाको पासमा बेञ्जिमाले ४७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । तर, ६० औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल थपेपछि खेल २–२ गोलको बराबरीमा सकियो ।

जारी प्रतियोगितामा पाँच गोल गरेका रोनाल्डो युरोकपमा सर्वाधिक १४ गोल गर्ने कीर्तिमानी खेलाडी समेत बने ।

यस्तै रोनाल्डोले पोर्चुगलका लागि १ सय ९ औं अन्तराष्ट्रिय गोल पूरा गरेका छन् । उनले सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अलि दाइको कीर्तिमानसँग बराबरी गरे । य

स्तै रोनाल्डोले जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान समेत भङ्ग गरेका छन् । रोनाल्डोले क्लोजको नाममा रहेको विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान तोडेका हुन् । ३६ वर्षीय रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् । यस समूहबाट पोर्चुगल उत्कृष्ट तेस्रो टोली बन्दै नकआउट चरणमा पुगेको हो ।

यस्तै यही समूहको अर्को खेलमा जर्मनी र हंगेरीले २–२ गोलको बराबरी खेले । बराबरीपछि जर्मनी समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । हंगेरीका लागि ११औं मिनेटमा कप्तान एडम सज्लाईले शुरुवाती गोल गरेका थिए ।

त्यसपछि ६६औं मिनेटमा जर्मनीका काइ हाभर्टेजले गोल गरेपछि खेल १–१ को बराबरी भएको थियो । तर ६८औं मिनेटमा हंगेरीका लागि आन्द्रेस सेफेरले र जर्मनीका लागि ८४ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गरेपछि खेल २–२ को बराबरीमा सकिएको थियो ।

यसअघि सकिएको समूह ई को खेलमा स्वीडेनले पोल्याण्डलाई ३–२ र स्पेनले स्लोभाकियालाई ५–० ले हराएका छन् ।

यस समूहबाट स्वीडेनले समूह विजेता र स्पेन उपविजेता बन्दै अन्तिम १६ मा पुगे । यससँगै युरोकपको अन्तिम १६ को समीकरण पनि पूरा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्