आर्थिक

नेपालको व्यापार घाटा करिब २५ प्रतिशतले बढ्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ९ गते १८:३४
नेपालको व्यापार घाटा करिब २५ प्रतिशतले बढ्यो (भिडियो रिपोर्टसहित)

९ असार २०७८ काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा नेपालको व्यापार घाटा करिव २५ प्रतिशतले बढेको छ ।

यो अवधिमा १३ खर्ब ८३ अर्ब रूपैयाँ बराबरको सामान आयात हुँदा निर्यात भने जम्मा १ खर्ब २१ अर्ब रूपैयाँको छ । गत साउनदेखि जेठ महिनासम्म १२ खर्ब ६२ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ ।

गत वर्षको यही अवधिको तुलनामा यो २४ दशमलव ६१ प्रतिशतले बढी रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । गत वर्षको यही अवधिमा १० खर्ब १२ अर्ब रूपैयाँ बराबरको ब्यापार घाटा थियो ।

यस्तै चालु आर्थिक वर्षमा निर्यात केही बढे पनि त्यसको तुलनामा आयात उच्च दरले बढी भएको छ । जसका कारण व्यापार घाटा पनि बढेको छ ।

यो अवधिमा आयात २५ दशमलब ६७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ११ महिनामा ११ खर्ब रूपैयाँको सामान आयात भएको थियो भने ८८ अर्ब रूपैयाँ बराबरको सामान निर्यात भएको थियो । निर्यात १ खर्व नाघे पनि आयात प्रतिस्थापन गर्न भने असफल भएको तथ्यांकले देखाएको छ ।

तथ्याङ्कअनुसार सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ । भारतसँग मात्र ७ खर्ब ९६ अर्ब ३९ करोडभन्दा बढी व्यापार घाटा भएको छ । ११ महिनामा भारतबाट ८ खर्ब ८६ अर्ब ५९ करोडको सामान आएका छन् भने निर्यात ९० अर्ब १९ करोडको छ ।

भारतपछि चीनसँग २ खर्ब ९ अर्ब ५७ करोडको व्यापार घाटा भएको छ । समीक्षा अवधिमा चीनबाट २ अर्ब १० करोड आयात हुँदा नेपालबाट जम्मा ९४ करोडको निर्यात भएको छ ।

यस्तै नेपालले व्यापार गर्ने अधिकांश देशसँग व्यपार घाटा भएको देखिएको छ । बढी घाटा रहेका अन्य मुलुकमा अर्जेन्टिना, क्यानाडा, दक्षिण अफ्रिका, मलेसिया, भियतनाम, जापान, थाइल्याण्ड लगायतका मुलुक छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *