समाज

बालिकाको पढाइलाई निरन्तरता दिन साइकल वितरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ९ गते १८:१३
बालिकाको पढाइलाई निरन्तरता दिन साइकल वितरण (भिडियो रिपोर्टसहित)

९ असार २०७८ कपिलवस्तु । बालिकाको पढाइलाई निरन्तरता दिन सहयोग पुर्‍याउने उद्देश्यले साथ कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले साइकल वितरण गरिरहेको छ ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकाले कक्षा ८ पास गरेका छात्रालाई साइकल दिएको छ । साइकलका कारण टाढासम्म हिँडेर पढन् जानुपर्ने बाध्यता अन्त्य भएपछि बालिका खुसी भएका छन् ।

विद्यालय टाढा भएकाले पढाइ छाड्नुपर्ने अवस्थाको अन्त्य होस् भनेर कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले छात्रालाई साइकल वितरण गर्न थालेको छ । नगरका विभिन्न वडाका करिव साढे २ सय छात्रालाई साइकल दिइएको छ । यसअघि हिँडेर विद्यालय पुग्ने गरेका छात्रा अब साइकल चलाएर विद्यालय जान पाउने भएपछि खुसी भएका छन् ।

नेपालमा धेरै बालिकाले विभिन्न कारणले बिचमै पढाइ छाड्ने गरेको तथ्यांक छ । बालिकाको शिक्षामा पहुँच र पढाइको निरन्तरताका लागि सहयोग पुगोस् भनेर साइकल वितरण थालिएको नगर प्रमुख केशवकुमार श्रेष्ठ बताउनुहुन्छ ।

विद्यालय टाढा भएका बालिकाका लागि साइकलका कारण निकै सहज भएको छ । तर नगरपालिकाले ९ कक्षामा पढ्ने छात्रालाई मात्रै साइकल दिइरहेको छ । त्यसैले अन्य कक्षाका बालिकालाई पनि यसरी नै साइकल दिनुपर्ने विद्यालयको सुझाव छ ।

यसअघि प्रदेश २ सरकारले बालिका शिक्षामा जोड दिँदै साइकल वितरण कार्यक्रम संचालन गरेको थियो । लुम्बिनी प्रदेश सरकारको सहयोगमा बुद्धभूमि नगरपालिकाले शुरु गरेको कार्यक्रम पनि प्रभावकारी देखिएको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *