समाज

नेपालगन्जको भेरी अस्पतालको खाना घर, २० रुपैयाँमा पेटभर खाना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ९ गते १७:१४
नेपालगन्जको भेरी अस्पतालको खाना घर, २० रुपैयाँमा पेटभर खाना (भिडियो रिपोर्टसहित)

९ असार २०७८ बाँके । नेपालगन्जको भेरी अस्पतालमा उपचारका लागि पुग्ने बिरामी र कुरुवाले २० रुपैँयामा खाना खान पाइरहेका छन् ।

अस्पताल परिसर मै संचालन गरिएको खाना घर नामक भन्डारामा बिहान बेलुका गरेर करिव ८ सय जनाले खाना खाइरहेका छन् । खाना घरले पैसा हुनेसँग एक छाकको २० रुपैयाँ लिन्छ भने नहुनेलाई निःशुल्क नै खुवाइरहेको छ ।

सुन्दरकान्ड मित्र मन्डल नामक समाज सेवी संस्थाले नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा कोरोना संक्रमित र कुरुवालाई लक्षित गरेर २० रुपैँयामा पेटभर खान खुवाइ रहेको छ ।

गत जेठमा मात्रै खाना घरमा २५ हजार जनाले खाना खाएका छन । १२ हजार जनाले खाना प्याकिङ गरेर बिरामीका लागि लगेका छन् । ऋण गरेर औषधि उपचार गराउन अस्पताल पुग्ने गरिब तथा बिपन्न बर्गका बिरामी र कुरुवा न्युन शुल्कमा खाना पाउँदा निक्कै खुसी छन् ।

कोरोना महामारीका कारण निषेधाज्ञा हुँदा बजार र होटेल बन्द भए । जसका कारण बिरामी र कुरुवाले पैसा तिरेर पनि खाना खान नपाउने अवस्था आयो । तर २० रुपैँयामा एक कप चिया पनि नपाइने अहिलेको अवस्थामा २० रुपैँयामा ताजा र स्वस्थ खाना पाउनु धेरैका लागि वरदान नै भएको छ ।

सुन्दरकान्ड मित्र मन्डलमा नेपालगन्जका २५ समाजसेवी संगठित छन । संस्थाका सदस्य र १४ जना सहयोगीले बिहान ९ बजेदेखि राती ९ बजेसम्म बिरामी र कुरुवालाई खाना खुवाउछन् । उनीहरुको खाना खुवाउने अभियानलाई नेपालगन्ज उपमहानगरपालिका लगायत देश विदेशमा रहेका विभिन्न व्यक्ति तथा संघसंस्थाले निरन्तर सहयोग गर्दै आएका छन् ।

कोरोना महामारी र निषेधाज्ञाका कारण बजार तथा होटेल बन्द भएका बेला अस्पताल परिसर मै संचालन भएको भण्डाराका कारण उपचार सेवा सहज बनाउन अस्पताल व्यवस्थापनलाई पनि सहयोग पुगेको छ ।

एक छाक खाना तयार गर्न करिव एक सय रुपैंया खर्च पर्छ । अपुग रकम संस्थाले सहयोगी हातमार्फत जुटाउने गरेको छ । एक दिनको खाना खुवाउन करिब ५० हजार खर्च हुने गरेको छ । तर अहिलेसम्म यो अभियानमा विभिन्न संघ संस्थाले स्वतस्फुर्त सहयोग गरिरहेकाले समस्या भएको छैन ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *