इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक युरोकप फूटबलको अन्तिम १६ मा प्रवेश
९ असार २०७८ काठमाडौं । समूह डी बाट इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक युरोकप फूटबलको अन्तिम १६ मा पुगेका छन् ।
समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० ले पराजित गर्दै इंग्ल्याण्ड समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । वेम्बली स्टेडियममा इंग्ल्याण्डको जितमा रहिम स्टरलिङको एकमात्र गोल नै निर्णायक बन्यो ।
उनले १२ औं मिनेटमा ज्याक ग्रेलिसको पासमा गोल गरेका थिए । अपराजित रहँदै अन्तिम १६ मा पुग्दा इंग्ल्याण्डले ३ खेलबाट ७ अंक जोड्यो ।
त्यस्तै उसले समूह चरणमा एउटा गोल पनि खाएन । पहिलो खेलमा क्रोएसियालाई १–० ले हराएको इंग्ल्याण्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
उता हारका बावजूद ३ खेलबाट ४ अंक जोडेको चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ । चेक रिपब्लिक उत्कृष्ट तेस्रो टोलीका रुपमा अन्तिम १६ मा पुगेको हो ।
यसअघि समूह ए बाट स्वीट्जरल्याण्ड पनि उत्कृष्ट तेस्रो टोली बन्दै नकआउट चरणमा पुगेको थियो ।
उता स्कटल्याण्डमाथि ३–१ गोलको जितसहित क्रोएसियाले उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनायो । क्रोएसियाका लागि निकोला भ्लासिक, लुका मोड्रिच र इभान पेरिसिकले एक(एक गोल गरे । स्कटल्याण्डका तर्फबाट कलुम म्याकग्रिगोरले सान्त्वना गोल फर्काए ।
ह्याम्पडेन पार्कमा निकोलाले १७औं मिनेटमा क्रोएसियालाई अग्रता दिलाएका थिए । तर ४२ औं मिनेटमा स्कटल्याण्डका म्याकग्रिगोरले गोल गर्दै खेल १(१ को बराबरी गरे ।
त्यसपछि ६२ औं मिनेटमा कप्तान मोड्रिच र ७७ औं मिनेटमा पेरिसिकले गोल थपेपछि क्रोएसिया ३–१ ले विजयी भएको हो । यस समूहबाट स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा आज चार खेल हुँदैछन् । समूह ई मा राति पौने दश बजे स्पेन र स्लोभाकिया तथा स्वीडेन र पोल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै समूह एफ मा जर्मनी र हंगेरी तथा साविक विजेता पोर्चुगल र फ्रान्सले राति पौने एक बजे खेल्ने छन् ।
प्रतिक्रिया